| आइतवार, कार्तिक २२, २०८३

फेसबुकबाट जुटेको सहयोगले बुंकोटका अपाङ्ग परिवारले नयाँ घर पाए

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ कोटगाउँका एक परिवारको सामाजिक सञ्जालबाट जुटको सहयोगले नयाँ घर बनेको छ । वडा अध्यक्ष शरण श्रेष्ठको सक्रियतामा १६ लाख ८३ हजार सात सय ४८ रुपैयाँ खर्चमा घर निर्माण भएको हो । उक्त घर मंगलवार एक कार्यक्रमका बिच शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले घरधनी धनबहादुर श्रेष्ठलाई औपचारी रुपमा हस्तान्तरण गरेका हुन् । श्रेष्ठ परिवार भने यस अघि देखि नै नयाँ बनेको सोही घरमा बस्दै आएका थिए । घर हस्तान्तरण सँगै गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई सहायता सामग्री खरिद गर्न एक लाख रुपैयाँ सहयोग गरेको छ ।

दैनिक गुजारा चलाउन समस्या परेको बेला भुकम्पले भत्काएको घरमा बस्न श्रेष्ठ परिवारलाई निकै शकस थियो । धनबहादुर श्रेष्ठ तथा पोषकुमारी श्रेष्ठका ६ सन्तान मध्ये छोरा राजिब श्रेष्ठ, छोरीहरु शिला श्रेष्ठ र लिला श्रेष्ठ पूर्ण रुपमा अशक्त छन् । ‘घर निर्माण पुरा भएको केही समय भयो, बिभिन्न कारणले औपचारीक कार्यक्रम गर्न सकेका थिएनौँ’ वडा अध्यक्ष शरण श्रेष्ठले भने । कामदारको अभाव, भुकम्पपछिको पुन निर्माणमा स्थानीय जनशक्ति आफ्नो घर निर्माणमा ब्यस्त हुनु, पछिल्लो समय कोरोनाको प्रभाव, दाताले घोषणा गरेका सहयोग रकम संकलन हुन समय लागेकाले घर निर्माण ढिला भएको उनले बताए ।
घर निर्माणमा १४ लाख ८१ हजार रुपैयाँ सहयोग जुटेको थियो । सहयोग संकलन भएपछि निर्माण समिति गठन गरेर काम सुरु गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । अपाङ्ग आबास निर्माण सहयोग समितिका अध्यक्ष जितु गुरुङले घर निर्माणका क्रममा दुई लाख दुई हजार रुपैयाँ अपुग भएको बताए । उक्त रकम वडा अध्यक्ष श्रेष्ठले थप सहयोग गर्ने बताएका छन् । बुङकोट घर भएर अन्यत्र रहेका सहित देश बिदेशबाट पनि आर्थिक सहयोग जुटेको थियो ।


मंगलवार घर निर्माण समितिका अध्यक्ष जितबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत जिबनबहादुर आले, वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, घर निर्माणमा सहयोग गर्ने अभियान्ताहरु बिष्णुकुमार श्रेष्ठ, अमृत श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, किरण श्रेष्ठ, लगायत राजनीतिक दल, स्थानीयको उपस्थिती थियो । भुकम्प प्रतिरोधी पक्की घर बनेसँगै श्रेष्ठ परिवार खुसी छन् । घर निर्माणका क्रममा रणसिंहदल गण गोरखाका नेपाली सेनाले श्रमदान समेत गरेका थिए । घर निर्माण अभियानमा सक्रियहुने हरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्