
गोरखाका आठ जना कोरोना संक्रमित डिस्चार्ज
गोरखा नगरपालिका र पालुङटार नगरपालिकाका गरी मंगलबार आठ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
गोरखा नगरपालिका वडा नं. ८ र १३, पालुङटार ४ र जिल्ला अदालतबाट कोरोना संक्रमण भई गोरखा अस्पतालको आइसोलेशनमा उपचाररत आठ जना मंगलबार बिहान डिस्चार्ज भएका छन् ।
गोरखा क्याम्पसमा रहेको अस्पतालको आइसोलेशनमा उपचाररत गोरखा नगरपालिका १३ का दुई महिला र तीन पुरुष, गोरखा नगरपालिका ८ का एक पुरुष, गोरखा जिल्ला अदालतका २८ बर्षका एक कर्मचारी र पालुङ्टार ४ का ५० बर्षका एक पुरुषलाई डिस्चार्ज गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
उनीहरु ३६ र १२ बर्षका महिला तथा २८, ३४, ३८, ४३, ५० र ५४, बर्षका पुरुष रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा दुई पटकसम्म लगातार कोरोना रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको गोरखा अस्पतालका सूचना अधिकारी ढकालले जानकारी दिए ।





