
मास्क यसरी लगाउनुहोस्
एन ९५ वा के ९५, सर्जिकल र कपडाको मास्क गरी अहिले बजारमा तीन किसिमका मास्क पाइन्छ । तीमध्ये एन ९५ माक्स भल्भ भएको र नभएको पनि बजारमा उपलब्ध हुने गरेको छ । सर्जिकल माक्सभन्दा कपडाको बढी प्रभावकारी हुन्छ । एन ९५ वा के ९५ अस्पतालको लागि डिजाइन गरिएको माक्स हो ।
अरु मास्कको तुलनामा महङ्गो पर्ने भएकाले आमनागरिकले एन ९५ लगाउन जरुरी नभएको डा. रबिन्द्र पाण्डे बताउँछन । यो धोएपछि कसिलो नहुने भएकाले धेरै धुन मिल्दैन । त्यस्तै, भल्भ भएको मास्क सास फेर्न र कुरा गर्न सजिलो भएपनि सङ्क्रमितले यो लगाउँदा अरुलाई सर्न सक्ने सम्भावना छ ।
कोभिड–१९ सङ्क्रमण भित्रिएसँगै विश्वमा नै मास्कको प्रयोग बढीरहेको देखिन्छ । शुरुमा विश्व स्वास्थ्य संगठनले स्वस्थ व्यक्तिले लगाउनु पर्दैन र मास्क लगाउने भनेको सङ्क्रमितले हो भन्ने धारणा बनाएको थियो । कोरोना भाइरसको आकार सानो भएकाले प्वालबाट छिर्छ भन्ने धेरैको बुझाई थियो । बिस्तारै, एक व्यक्तिबाट अर्काे व्यक्तिमा भाइरस मात्रै जाँदैन बोल्दा, खोक्दा, वा हाछ्युँ गर्दा त्यो कणसँगै जान्छ भन्ने अध्ययनले देखायो । त्यो कण आँखाले नदेखेपनि ठूलो आकारको हुन्छ । त्यो मास्कबाट छिर्देन । त्यसले सङ्क्रमित भए वा नभएपनि मास्क लगाउनुपर्छ भन्ने धारणा आएको पाइन्छ ।
तीन किसिमका मास्कसँगै बजारमा रुमाल वा पछ्यौरा, सल, गलबन्दी प्रयोग पनि बढीरहेको देखिन्छ । पछिल्लो अनुसन्धानले एक दुई पचास, सय भाइरस प्रवेश गर्दैमा सङ्क्रमण हुँदैन र सङ्क्रमण हुन एकदेखि तीन हजार भाइरस आवश्यक पर्छ भन्ने देखाएको छ । त्यसैले पनि मास्क वा अरु कपडाको प्रयोग गरी नाक, मुख छोप्दा भाइरसको लोड कम हुने डा. पाण्डे बताउँछन ।
कतिपयले एकभन्दा बढी मास्क लगाएको पाइन्छ । सुरक्षाका हिसाबले एक तहको मास्क एकभन्दा बढी लगाउनु राम्रो भएपनि यसबाट सास फेर्न गाह्रो हुन्छ । बजारमा पाइने धेरै मास्कमा नाकको माथिल्लो भागमा च्याप्ने नभएको पाइएको छ ।




