| आइतवार, कार्तिक २२, २०८३

गोरखामा ५० रुटका सडक स्तरीय बनाउन करोडौँ बजेट

पूर्वाधार बिकास कार्यालय गोरखाले चालु वर्ष गोरखामा नयाँ र क्रमागत गरी ५० भन्दाबढि सडकका योजना संचालन गर्ने भएको छ । यस अघि पूर्वाधार बिकास कार्यालय लमजुङले हेर्दै आएको सडक लगायतका अन्य काम गोरखामै रहेको कार्यालयले हेर्ने गरी गण्डकी प्रदेश सरकारले पूर्वाधार बिकास कार्यालय स्थापना गरेको हो ।

सबैभन्दा धेरै एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रममा बजेट छुट्याइएको छ । ढुङ्गागाढे बुङकोट, नाम्जुङ, घैरुङ, मनकामना सडकका लागि ९ करोड बिनियोजन गरिएको छ ।

बारपाक, लाप्राक सडकका लागि चालु वर्ष पाँच करोड, राधाकृष्ण मन्दिर कालमाटा, पौवाटार, हटिया सडकका लागि पाँच करोड बिनियोजन भएको पूर्वाधार बिकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए ।

अजिरकोट गाउँपालिकाको ढोडेनी, सिम्जुङ हुँदै गरापानी जोड्ने सडकका लागि पाँच करोड छुट्याइएको छ । विषेश सडक अन्र्तगत छेवेटारे, चोरकाटे, चित्रेपोखरी, भच्चेक, दुधपोखरी सडकका लागि पाँच करोड बिनियोजन भएको कार्यालय प्रमुख अधिकारीले बताए ।

प्रदेश सरकारले प्रादेशिक सडक अन्र्तगत ‘क’ बर्गको सडकमा रुईला भञ्ज्याङ, साम्दो, ल्हो, प्रोक, सिर्दिबास सडकका लागि दुई करोड बिनियोजन भएको छ । ‘ख’ बर्गका सडक अन्तर्गत १४ वटा सडक स्तरोन्नती हुने भएको छ ।

‘यसका लागि २६ करोड बजेट आएको छ’ कार्यालय प्रमुख अधिकारीले भने ‘ग’ बर्गका २५ वटा सडकका लागि २५ करोड बजेट छुट्याइएको छ ।’ अन्य सडक ३ वटाका लागि सात करोड बिनियोजन भएको छ ।

स्थानीय तहको केन्द्र जोड्ने ३ सडकका लागि ८ करोड छुट्याइएको पूर्वाधार कार्यालयले जनाएको छ । जस अन्र्तगत फिस्लिङ, भुम्लिचोक, गण्डकी गाउँपालिको केन्द्र जोड्ने सडक, घ्याम्पेशाल, पाँचखुवा देउराली, ताकुकोट सडक र आर्खेत सोती लापु माछाखोला सडकका लागि उक्त बजेट छुट्याइएको हो ।

पुल निर्माणको काम पनि पूर्वाधार कार्यालयबाटै हुने भएको छ । १० वटा पक्की पुलका योजनामा ८ करोड बिनियोजन भएको कार्यालय प्रमुख अधिकारीले बताए । १८ वटा झोलुङ्गे पुलका लागि ७ करोड, सामुदायिक भबन, निर्माणाधिन आश्रमहरु गरी छ वटा योजनाका लागि ४ करोड बजेट बिनियोजन गरिएको कार्यालयले जनाएको छ ।

‘योजना तत्काल कार्यन्वयन गर्नुपर्ने खालका धेरै छन्’ पूर्वाधार कार्यालयका प्रमुख दयाराम अधिकारीले भने ‘कोभिडको त्रास र असरले काम केही ढिला भएको छ, अबस्था समान्य हुने संकेत भयो भने हामी काम अघि बढाउँछौँ ।’ कार्यालयले सहज अवस्था रहँदा सतप्रतिशत प्रगति गर्ने गरी काम सिध्याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्