| सोमवार, कार्तिक २३, २०८३

गोरखामा नयाँ नागरिकता बनाउने र प्रतिलिपि बनाउनेको संख्या उस्तै

जिल्ला प्रशासन कार्यालय गोरखाबाट जारी भएको नेपाली नागरिकताको प्रमाण पत्र हराएमा, च्यातिएमा, पानीले भिजेमा, आगलागी भएमा, पुरिएमा नयाँ नागरिकताको प्रतिलिपि लिन सकिन्छ । यी बिभिन्न आधारमा प्रतिलिपि लिन सकिने ब्यवस्था भएपनि अधिकांसले भने हराएको भन्दै नयाँ नागरिकता लिने गर्छन ।

गोरखामा गत वर्ष प्रतिलिपि नागरिकता लिनेको संख्या चार हजार नौ सय ५९ रहेको छ । नयाँ नागरिकता बनाउनेको संख्या पाँच हजार तीन सय ४४ छ । नयाँ बनाउने र प्रतिलिपि लिनेको संख्या तीन सय ८५ ले मात्रै फरक छ । जति नयाँ नागरिकता बनाउने अनुपात छ त्यति नै हराउने र प्रतिलिपि लिने अनुपात देखिन्छ ।

साउन १४ देखि भदौ १४ सम्मको एक महिने अवधीमा नयाँ नागरिकता लिनेको संख्या ८६ मात्रै छ भने प्रतिलिपि नागरिकता लिनेहरु एक सय चार जना छन् । यहाँ नयाँ बनाउने भन्दा प्रतिलिपि लिने धेरै देखिन्छन् ।

प्रतिलिपि नागरिकता लिने ४९ जना महिला छन् भने ५५ पुरुष छन् । नयाँ नागरिकता बनाउनेमा ४२ जना महिला र ४४ जना पुरुष छन् । नयाँ लिनेहरु सबैले बंशजको नाताले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘नयाँ नागरिकता लिन १६ वर्ष पूरा भएको हुनुपर्छ’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने ‘प्रतिलिपि लिन धेरै अघि नागरिकता बनाएका, र आज बनाएर भोलीपल्टै हराएकाले पनि पाउँछन् । त्यो भएर संख्या उस्तै उस्तै देखिएको हो ।’

बंशजको आधारमा नागरिकता लिने पाँच हजार तीन सय ४३ थिए भने आर्थिक वर्ष २०७६÷७७ मा अंगिकृत नागरिकता लिने एक जना मात्रै रहेको प्रजिअ भट्टराईले बताए ।

नागरिकताको प्रयोजन धेरै हुने भएकाले मानिसहरुले साथमा लिएर हिड्ने गर्छन । धेरै ठाउँमा प्रयोग गर्नुपर्दा हराउने गरेको गुनासो नागरिकता बनाउन प्रशासन आउनेहरुको हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्