
कोरोना प्रभाव : गोरखामा भिडियो मार्फत बिरामीको उपचार
कोरोनाको त्रास र प्रभावका कारण स्वास्थ्यकर्मी र बिरामी बिचको दुरी बढेको छ । डाक्टरहरु सँग बिरामीको भेट स्वास्थ्यमा जटिल समस्या परेपछि मात्रै हुने गरेको छ । यसले मानविय स्वास्थ्य झनै जोखिम परेको स्वास्थ्यकर्मी बताउँछन् ।
गोरखाका निजी मेडिकलहरुले हप्तामा एक पटक बिभिन्न रोगका विषेशज्ञ बोलाएर बिरामीलाई सेवा दिने गर्थे । लकडाउन यता त्यो सेवा अवरुद्ध छ । कोरोनाको जोखिम स्वास्थ्यकर्मीमा धेरै देखिएपछि बिरामी उपचार गर्न स्वयम डराउने गरेपछि गोरखा सदरमुकामको संगम मेडिहेल्थ क्लिनिकले टेलिमेडिसिन विषेशज्ञ सेवा सुरु गरेको क्लिनिकका संचालक संगमबाबु श्रेष्ठले बताए ।
‘अब बिरामी क्लिनिक सम्म आएपछि हामी विषेशज्ञ चिकित्सक सँग भिडियो (टेलिमेडिसिन) मार्फत भेटाउँछौँ’ संचालक श्रेष्ठले भने ‘बिरामीले समस्याको बारेमा बताउँछन्, औषधी पनि उतैबाट भनिदिने, एक्सरे रिपोर्ट पनि उतैबाट हेर्न मिल्छ ।’
शनिवार हाडजोर्नी रोग विषेशज्ञ डाक्टर कबिन न्यौपाने र छाला रोग विषेशज्ञ अच्यूत पोखरेलले १२ जना बिरामीलाई सेवा दिएको उनले बताए । ‘कोभिडको त्रासका बेला अन्यत्र उपचार गर्न जान र विषेशज्ञ सेवा लिन पनि सर्वसाधारणलाई समस्या छ’ संचालक श्रेष्ठले भने ।
‘विषेशज्ञ सेवा शुल्क मात्रै लिन्छौँ, फलोअपमा शुल्क लाग्दैन’ उनले भने ‘कमजोर स्तर भएकाहरुको निशुल्क सेवा पनि दिइरहेका छौँ ।’ चितवनबाट चिकित्सकले टेलिमेडिसिन सेवा दिने गरेका छन् ।
‘बिरामीको सहज सेवाका लागि चिकित्सक सँग प्रत्यक्ष भेट हुन नसकेपनि परामर्श र उपचारका लागि टेलिमेडिसिन सेवा थालिएको हो’ औषधी ब्यवशायी संघ गोरखाका अध्यक्ष समेत रहेका संचालक श्रेष्ठले भने ।




