
अदालतले सजायाँ तोकेपछि फरार रहेको २१ जना पक्राउ
गोरखा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयले बिभिन्न समयमा सजायाँ तोकेका फरार प्रतिवादीलाई गोरखा प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । चालु वर्षको साउन यता शुक्रवार सम्म २१ जना फरार प्रतिवादी पक्राउ परिसकेको एसपी सुरेन्द्र गुरुङले बताए ।
पक्राउ परेका मध्ये केही करागारमा सजायाँ भोगिरहेका छन् भने जरिवाना तोकिएका कतिपय तिरेर छुटेका छन् ।
‘अदालतको सजायाँ भुक्तान गर्नुपर्छ, फैसला कार्यन्वयन गराउने अभियानमा हामी लागेका छौँ’ एसपी गुरुङले भने । सोही अभियान अन्र्तगत शुक्रवार गोरखाको गण्डकी गाउँपालिका ७ घ्याल्चोकका ४२ वर्षिय निरबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सार्वजनीक अपराध मुद्धामा सजायाँ तोकिएका फरार उनलाई गोरखा नगरपालिका ६ बाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय बुझाइएको हो ।
पछिल्लो समय अदालत र प्रशासनबाट फैसला भएका तर कार्यन्वयन नभएका मुद्धाको तथ्याङ्क लिएर प्रतिवादीको खोजी अभियानमा मातहतका चौकीका प्रहरीलाई पनि सक्रिया बनाइएको एसपी गुरुङले बताए ।




