
राजेन्द्र पराजुलीले बाँडे एकसय परिबारलाई खाद्यान्न राहत
गोरखाको आरुपोखरी घर भई हाल काठमाडौँ बस्दै आएका राजेन्द्र पराजुलीले निषेधाज्ञाका बेला छाक टार्न धौ धौ भएका मजदुर तथा विपन्न एकल महिलाहरुलाई खाद्यान्न वितरण गरेका छन् ।
बिभिन्न जिल्लाबाट काठमाडौँमा आई मजदुरी गरी जीविका चलाइरहेका एकसय तीनजना मजदुरलाई बिहिबार सामाखुशीमा भेला गरी चामल, तेल, नून, दाल वितरण गरेका हुन् ।
‘अहिले निषेधाज्ञाका बेला बिपन्न एकल महिलाहरु र मजदुरहरुलाई साह्रै समस्या छ । साहुले काम दिएका छैनन् । कसैका साहु सम्पर्कमै छैनन् । जसले गर्दा काठमाडौंका मजदुरलाई छाक टार्नै समस्या छ’, पराजुलीले भने, ‘त्यसैले एकसय तीन जनालाई प्रति परिबार एक बोरा चामल, एक लिटर खानेतेल, एक किलो नून र दुई किलो दाल वितरण गरेको हुँ ।’
पराजुली जनता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद सदस्य तथा गोरखा जिल्ला उपाध्यक्ष हुन् ।




