
हराउँदै पुराना भाँडाकुँडा
शिव उप्रेतीः चुमनुब्री गाउँपालिका ७ नीलेका मिङग्यूर दोर्जे लामा पहिले धोङ्मोमा बनाएको घ्यूचिया(सुचिया) खान्थे । तर दुईबर्ष भयो, उनको धोङ्मो थन्किएर बसेको छ ।
उनकी पत्नी तातोपानी, चिया, घ्यू मिक्स्चरमा हाल्छिन् । बटन दबाएपछि तीन मिनेटमा चिया बन्छ । त्यही खान्छन् ।
धार्चे ३ का कान्छा गुरुङलाई पहिले उनकी पत्नीले आनेपोमले नापेर रक्सी दिन्थिन् । पोममै रक्सी खान्थे । तर अहिले उनी बियरको बोत्तल, रमका चेप्टे सिसीहरुमा राखेर खाने गर्छन् ।
छेकम्पारकी पसले छिरिङ भुटी पहिले घ्वाकले भरेर गहुँ, फापरको कारोबार गर्थिन् । तर अचेल उनी डिजिटल तराजुमा जोखेर बेच्ने गर्छिन् ।
‘घ्वाक, ठेकी, पोम, फाम, कानी, धोङ्मो अब थन्किसक्यो’, चुमनुब्री ७ नीलेका कन्छोक लुण्डुप लामा भन्छन्, ‘अचेल प्लास्टिक, सिसी र आल्मुनियमका भाडाकुँड चल्न थाले । परम्परादेखि चल्दै आएको काठका भाँडाकुँडा सबै बिस्थापित भयो ।’ पुराना भाँडाकुँडाको संरक्षण हुनुपर्ने धारणा उनले राखे ।
‘पोम त अब चाडपर्वमा मात्र झिक्ने चलन छ’, धार्चे ५ यमगाउँका टेकबहादुर गुरुङ भन्छन्, ‘पहिले एक आनामा एकपोम रक्सी पाइन्थ्यो । त्यसैले आनेपोम रक्सी भन्ने चलन छ । एक नापे भनेको एक क्वाटर रहेछ । तर अचले पोम नै हरायो ।’ उनका अनुसार बोत्तल र सिसीले पोम बिस्थापित गर्यो । जर्किन र गाग्रीले ठेकीलाई बिस्थापित गर्यो ।
डाडुपन्यूले दाबिलो बिस्थापित भयो । किट्ली र बाल्टीले फाम बिस्थापित भयो । बाकस, सुटकेसले बिरिम, रेनकोट र प्लास्टिकले स्याखु र घुम बिस्थापित भएको गुरुङ बताउँछन् ।
नयाँ सामग्रीले समय, श्रम र पैसाको लगानी कम गरेको गुणस्तर पनि कम गराएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ बताउँछन् । ‘पुराना भाँडाकुँडाको पनि फाइदा र बेफाइदा दुवै छन् । नयाँ भाँडाकुँडाको पनि सकारात्मक, नकारात्मक पक्ष दुवै छन्’, उनी भन्छन्, ‘नयाँ पुस्ताले पुराना भाँडाकुँडा रुचाएनन् । नयाँतिर आकर्षित भए ।’ पुराना भाँडाकुँडा बनाउने सीप पनि पुराना पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण नगरेको उनको भनाइ छ । ‘प्राचीन भाँडाकुँडा नष्ट हुदै गए । बुढा पुराना मान्छेहरु सक्किदै गए तर नयाँ पुस्तामा यस्ता भाँडाकुँडा बनाउने सीप हस्तान्तरण भएन’, गुरुङ भन्छन्, ‘प्राचीन सँस्कृति संरक्षण गर्ने सम्बन्धी कार्यक्रम बनाउनु पर्ने भएको छ ।’




