| आइतवार, कार्तिक २२, २०८३

शहिदलखनमा जेष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी

गोरखाको शहिदलखन गाउँपालिकाले घरघरै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरेको छ । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठका अनुसार गाउँपालिकाका ९ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घरघरै पुगेर ७० वर्ष उमेर पुगेकाहरुको स्वास्थ्य जाँच सुरु गरेका छन् ।

‘भदौ पहिलो सातादेखि यो सेवा सुरु भएको छ’ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले भने ‘प्रेसर, सुगरको अवस्था जाँच गरेर निशुल्क उपचार सेवा घरैमा पुगेर दिएका छौँ ।’ शहिद लखन गाउँपालिकामा ७० वर्ष उमेरदेखि माथिका करिब दुई हजार पाँच सय जना रहेको गाउँपालिकाले जनाएको छ ।

वृद्धवृद्धालाई घरघरमा पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम गाउँपालिकाले यो वर्षदेखि संचालन गरेको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । साउनदेखि सुरु गर्ने योजना भएपनि कोभिड १९ को प्रभावले एक महिना ढिला भएको उनले बताए ।

गाउँपालिकाले दिर्घरोगी वृद्धवृद्धालाई निशुल्क औषधी दिने योजना सहित घरघरमा पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको जनाएको छ ।

नौ वटै वडामा रहेको स्वास्थ्य चौकीले आफ्नो सेवा क्षेत्र भित्रका ७० वर्ष उमेरदेखि माथिका सबैको स्वास्थ्य जाँच घरघरमा पुगेर गर्नुपर्नेछ । ‘स्वास्थ्य अवस्था, दिर्घरोगको अवस्था बारे जानकारी आएपछि हामी औषधी खरिद गर्दा वृद्धवृद्धालाई दिने औषधी पनि किन्छौँ’ स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भने ।

अहिले कोभिड १९ को जोखिम धेरै वृद्धवृद्धामा समेत देखिएकाले घरैमा पुगेर स्वास्थ्य जाँच गर्दा उनीहरुको उपचारमा सजिलो हुने र गाउँपालिका भित्रका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था पनि थाहा हुने उनले बताए ।

बुधवार शहिदलखन गाउँपालिकाको वडा नम्बर ७ मा बुङ्कोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले टोलटोलमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरेका वडा अध्यक्ष शरण श्रेष्ठले बताए । ‘वडाबासी वृद्धवृद्धा घरैमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएका छन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्