| आइतवार, कार्तिक २२, २०८३

ताकुकोट स्वास्थ्य चौकीको भत्किएको सडक सांसद दवाडीले गरे मर्मत

सामाजिक सञ्जालमा चर्चामा रहेका नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले केही दिनअघि गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ को स्वास्थ्य चौकी जाने सडक भत्किएर बिचल्ली भएको एउटा तस्बिर फेसबुकमा सार्वजनिक गरे । सडकमा एम्बुलेन्स पनि जान नसक्ने दृष्य देखिन्थ्यो ।

विगत लामो समयदेखि जीर्ण बनेको सो सडक मर्मत गर्न कसैले चासो देखाएका थिएनन् ।

सामाजिक सञ्जालमा उक्त सडकको फोटो सार्वजनिक भएपछि स्वास्थ्य चौकी व्यवस्थापन समिति, गाउँ कार्यपालिका लगायत सरोकारवाला निकायको आलोचना भएको थियो ।

कसैको चासोमा नपरेको उक्त स्वास्थ्य चौकी जाने बाटो मर्मतका लागि सोही क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले अग्रसरता देखाएका छन् । सांसद दवाडीको पहल र सहयोगमा बुधबार बिहानैबाट उक्त बाटो मर्मत भइरहेको स्थानीयले जानकारी दिएका छन् ।

‘बिगत केही दिनदेखि सामाजिक संजालमा भाइरल बनिरहेको मेरो निर्वाचन क्षेत्र गोरखा २ ख को बारपाक सुलिकोट गाउँंपालिकाको केन्द्र नजिकै रहेको ताकुकोट स्वास्थ्य चौंकी जाने मोटरबाटोको अवस्थाले मेरो गम्भीर ध्यानाकर्षण गरायो,’ सांसद दवाडीले भने, ‘स्वास्थ्य संस्था जाने सडकको यस्तो अबस्थाबारे आजसम्म मलाई औपचारिक जानाकारी थिएन । हिजो सामाजिक संजालबाट जानाकारी पाएपछि मैले आज तुरून्तै उक्त सडकलाई स्वास्थ्य चौकीसम्म अत्यावश्यक एम्वुलेन्स लगायतका यातायात पुग्न सक्ने गरि मर्मत गरेको छु ।’ उनले उक्त काम कुनै भाइरल हुन नगरेको पनि बताएका छन् ।

‘यो कुनै भाइरल हुनको लागि नभै आफ्नो कर्तव्य ठानेर गरेको हुनाले यसलाई त्यसरी नै बुझिदिनुहुन अनुरोध छ,’ उनले भने ।
सांसद दवाडी लामो समयदेखि सामाजिक काममा सक्रिय छन् ।

‘कतैबाट पनि ध्यान नभए मलाई खबर गर्नुस मैले सकेको सहयोग म गरिहाल्छु,’ उनले भने, ‘अहिले पनि मैले कसैको सहयोगमा काम गरेको हैन । राज्यबाट ठगिएको ठाउँमा मैले सहयोग गरेको हुँ ।’

कसैले चासो नदिएको ठाउँमा सांसद दवाडीले चासो दिएको स्थानीय निर्मल धिताल बताउँछन् । ‘बाटो भत्किएको त धेरै नै भयो तर, साउनको पहिलो हप्ताचाहिँ त्यहाँबाट हिँड्नै नमिल्ने गरी पहिरिएको थियो,’ उनले भने, ‘माननीयज्यूले थाहा पाउनु भएछ अनि आज विहानै त्यो बाटो बनाउन भन्नु भयो । अहिले काम भइरहेको छ । आजबाट सजिलै स्वास्थ्य चौकी जान पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्