| मङ्लबार, साउन ११, २०८३

भदौ १२, १४ गतेदेखि लकडाउन, सटडाउन हुनेछैन : मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन, सटडाउन वा निषेधाज्ञा उपयुक्त बिकल्प नभएकाले यसलाई आगामि दिनमा निरन्तरता दिन नहुने बताएका छन् ।

अहिलेको अबस्था कोरोना भर्खर नेपाल भित्रिएको अबस्था जस्तो नभएकाले अब अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘आज गाउँगाउँमा क्वारेण्टाइन छन् । १३ देखि १५ हजार जनाको पिसिआर एकैदिनमा परीक्षण हुन्छ । हिजो एउटा मेसिन थियो, आज तीनवटा मेसिन छ । अहिले कोभिडको बारेमा व्यापक सचेतना भएको छ’, मन्त्री बस्नेतले भने, ‘विश्वका विभिन्न देशबाट फर्केकासंगसँगै रोग आएको हो । त्यसैले केही बढेको जस्तो छ । त्यसलाई पनि छिट्टै रोकथाम र नियन्त्रण गर्न सकिन्छ । हामीले सरुवा रोग अस्पताल बनाउँदैछौं । यो अबस्थामा आइपुग्दा लकडाउन होस् वा सटडाउन होस्, योचाहिँ कोभिडबाट बच्ने उपाय होइन भन्नेमा हामी प्रष्ट छौं ।’

यदि लकडाउन, सटडाउन, निषेधाज्ञा वा बिभिन्न कारण अर्थतन्त्र ठप्प पा¥यौं भने हामीले कोरोना भन्दा पनि ठूलो बिकराल परिस्थिति झेल्नु पर्ने भन्दै उनले लकडाउन, निषेधाज्ञा गर्न स्थानीय प्रशासनलाई सिफारिस नगर्न स्थानीय सरकारलाई उनले अनुरोध गरे ।

‘अर्थतन्त्र तहसतहस भएपछि उत्पन्न हुने नयाँ जटिलताहरुसंग लड्न के हामी तयार छौं ? यसको जवाफ खोज्न छलफल गर्नुहोस्’, मन्त्री बस्नेतले भने, ‘लकडाउन समस्याको समाधान होइन । यो त नयाँ समस्या उब्जाउने माध्यम हो । यसले मुलुकको अर्थतन्त्रमा बिकराल समस्या ल्याउन सक्छ ।’

कोभिड नियन्त्रण गर्न अरु देशले गरेको अभ्यास अध्ययन गर्र्न जरुरी रहेको उनले बताए ।

‘छिमेकी मुलुकमा हेर्ने हो भने एकैदिनमा ७० हजार मान्छेहरु संक्रमित भइरहेका छन् । त्यस्तो अबस्थामा त उनीहरुले व्यवस्थापन गरिरहेका छन् भने हाम्रो देशमा त जम्माजम्मी दिनको छसय, सातसय जना संक्रमित भएका छन्’, उनले भने, ‘यो अबस्थामा हामीले सुरक्षाको उपाय अपनाएर कोरोनासँग लड्दै जानुपर्छ । अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ । किनभने एकदिन लकडाउन गर्दा गण्डकी प्रदेशले ३८ करोड रुपैयाँ बराबरको नोक्शानी व्यहोर्नुपर्छ ।’

घोषणा गरिएका निषेधाज्ञा स्थगित गर्न जिल्ला प्रशासन कार्यालयहरुमा आग्रह गर्न सुरु गरिएको मन्त्री बस्नेतले बताए ।

‘हाम्रो प्रदेशभित्रका जिल्लाका सिडियोसाबले आउँदो १२ गते, १४ गतेसम्म लकडाउन, सटडाउन गरिरहनु भएको छ । हामीले उहाँहरुसँग समन्वय गरिरहेका छौं । सकिन्छ भने यो बीचमै सटडाउन, लकडाउन, निषेधाज्ञा के के भनिएको छ, स्थगित गर्न अनुरोध गरिरहेका छौँ । होइन भने पनि अब १२, १४ गतेदेखि हाम्रो प्रदेशभित्रका जिल्लाहरुमा यो लकडाउन, सटडाउन हुनेछैन भनेका छौँ’, मन्त्री बस्नेतले भने, ‘स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दलका साथीहरु, व्यापारी, व्यवसायी, नागरिक समाज, शिक्षक, वुद्धिजीविहरुले के बुझ्नु जरुरी छ भने लकडाउन, सटडाउनका कारण मुलुकमा आर्थिक संकट आयो भने यो भन्दा भयाबह अबस्था आउनेछ ।’

व्यक्तिगत सरसफाइ, सामाजिक सरसफाइका उपायहरु अपनाएर बजार तथा अन्य आर्थिक गतिविधि खुलाउन उनले आग्रह गरे ।

‘मास्क लगाउनुस्, सेनिटाइजर लगाउनुस्, सामाजिक, भौतिक दुरी कायम गर्नुस् । बाहिर देशबाट आएकाहरुलाई यथोचित ढंगल व्यवस्थापन गर्नुस् । तर लकडाउन, सटडाउन गर्न कदापि सिफारिस नगर्नुस्’, मन्त्रीले भने, ‘लकडाउन र सटडाउनमा हामी रमायौँ भने निकट भविष्यमै हामीमाझ मानवीय संकट आउनेछ । भोकमरी सिर्जना हुनसक्छ । हरेक क्षेत्र तहसनहस भएर सुन्यमा झर्न सक्छ । त्यसैले म फेरि पनि भन्छु, हाम्रो प्रदेशभित्रका जिल्लाहरुमा लकडाउन, सटडाउन, निषेधाज्ञा हुन दिनेछैनौं ।’

यस बारेमा मुख्यमन्त्रीलगायत मन्त्री बीच दिनहूँजसो छलफल गरी लकडाउनलाई बिकल्प नमान्ने निश्कर्ष निकालेको बताए । आइपरेका चुनौतीहरुको सामना गरी सुरक्षाका उपायहरु अपनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

‘जहाँ संक्रमित फेला प¥यो, उसको कन्ट्याक ट्रेसिङ गरेर स्वाव संकलनमा तिब्रता दिनुपर्छ र अर्थतन्त्र सुचारु गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्