
स्वास्थ्य संस्थाका भबन निर्माणको कार्यक्रम आयो, बजेट आएन
दरौँदी समाचारदाताः गोरखामा गतआर्थिक बर्ष ४६ वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि कार्यक्रम आयो, तर बजेट नआउँदा एउटा पनि बन्न सकेन ।
जिल्ला आयोजना कार्यन्वयन इकाई(भबन)मार्फत बजेट नआउने, कार्यक्रम मात्र आउने गर्दा स्वास्थ्य संस्था भबन योजना अनुसार निर्माण हुन नसकेको कार्यालयले जनाएको छ । बैदेशिक दातृ निकायको सहयोगको आशामा सरकारले ४६ वटा स्वास्थ्य भबन निर्माण गर्ने लक्ष्य सहित कार्यक्रम पठाएको थियो ।
‘कार्यक्रम आएपछि हामीले काम थाल्यौँ’ जिल्ला आयोजना कार्यन्वयन ईकाई (भबन) की प्रमुख सुनिता श्रेष्ठले भनिन् ‘बजेट आएन, काम गर्न सकिएन ।’ ती सबै स्वास्थ्य चौकीको राष्टिूय पुन निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाईबाट टेण्डर नहुँदा काम अघि बढ्न नसकेको उनले बताइन् ।
१९ वटा भवनको लगत स्टमेट तयार भइसकेको, १५ वटाको लगत स्टमेट तयार भइरहेको, ११ वटाको जग्गा ब्यवस्थापन चरणमा रहेको र एउटा आवश्यक नभएको बिवरण केन्द्रमा पठाएको जिल्ला स्थित इकाई कार्यालयले जनाएको छ ।
गत वर्ष बैदेशिक सहयोग नआउँदा स्वास्थ्य चौकी निर्माण हुन नसकेपछि चालु वर्ष नेपाल सरकारले आफैँले बजेट बिनियोजन गरेको छ । ‘गत वर्षदेखि गरेको तयारीले यस वर्ष सजिलो हुने भयो’ भबनकी प्रमुख श्रेष्ठले भनिन् ‘गत वर्षदेखि काम भएको भए छिटो निर्माण हुन्थ्यो । यसबर्ष त पक्कै पनि कार्यान्वयन हुने आशा छ ।’
नेपाल सरकारबाट गोरखा नगरपालिका ३ नारेश्वरमा बनेको स्वास्थ्य चौकी भवनको काम अन्तिम चरणमा छ । दुईवटा तनहुँमा निर्माणधीन छ । स्वास्थ्य भबन तर्फ २०७६/७७ मा पाँच प्रतिशत मात्रै बित्तीय प्रगति भएको कार्यालयको तथ्याङ्क छ ।
कतिपय स्थानीय तहले स्वास्थ्य चौकी निर्माण गर्न नमिल्ने गरी भबन संहिता अनुसारको आवश्यक जग्गा उपलब्ध नगराउँदा समस्या भएको ईकाईले जनाएको छ । स्वास्थ्य चौकीको डिपिआर तयार गर्न उपभोक्ता र पालिकालाई समस्या हुँदा भबन निर्माणको काम अझै ढिला भएको हो ।




