
दरमा के खाने, के नखाने !
दर खाने भनेपछि हामी मिठा मिठा खानेकुरा खाने भन्ने सम्झन्छौँ । तपाई हामी सबैलाई एकै खानेकुरा मिठो नलाग्न सक्छ । फरक फरक खानेकुरा रोजाईमा पर्न सक्छ । तर हामीले मिठो लाग्यो भन्दैमा खानेकुरा धेरै र स्वास्थ्यलाई असर गर्ने खालका भने खानु हुँदैन । अझै ब्रत बसेका बेला खानेपानमा महिलाहरुले विषेश ध्यान दिनुपर्छ ।
कस्ता खानेकुरा खाने त !
दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा त असर पुर्याउँछ नै, सामाजिक स्वास्थ्य समेत खलबलिन्छ । दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र होइन, घातक पनि हुन सक्छ ।
स्वच्छ खाने
वर्षाको मौसम भएकाले बजारमा आउने खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छन् । त्यसैले राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा खाना खानुपर्छ ।
बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ ।
धेरै नखाने
सकेसम्म धेरै दिन अघिदेखि दर नखाएकै राम्रो । खाए पनि शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् । शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा खान नहुने चिकित्सको सुझाव छ ।
भारी नखाने
आजभोलि दरमा माछा मासुजस्ता परिकार पनि समावेश हुने गर्दछन् । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम गर्नु नै राम्रो हुन्छ ।
तेलमा तारेको खानेकुरा धेरै खाँदा स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ । अघिल्लो दिनको दरले भोलिपल्ट तिर्खा लाग्नु स्वभाविक हो । तर, व्रत बस्दा पानीसम्म पनि नपिउन स्वास्थ्यका लागि अहितकर हुन्छ ।
पोषिलो खाने
पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिन्छ । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु राम्रो हो । साथमा शरीरका लागि आवश्यक ग्लुकोज तथा कार्बाेहाइड्रेड दिने खालका खानेकुरा पनि खानु पर्छ ।
यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ ।




