
कोरोना महामारीका बीच गोरखा आयुर्वेद कम्पनी निरन्तर सञ्चालन
दराैँदी समाचारदाताः कोभिड १९ (कोरोना महामारी) प्रभावका कारण अधिकांस उद्योग चैत दोस्रो सातादेखि बन्द छन् । गोरखा सदरमुकाममा रहेको गोरखा आयूर्वेद कम्पनी भने निरन्तर संचालनमा छ ।
त्यहाँ कार्यरत ३५ जना कर्मचारी आलोपालो नियमित काममा छन् भने उद्योगले उत्पादन रोकेको छैन । लकडाउनको पाँचौँ महिना सुरु हुँदा मजदुरहरुले पहिले जस्तै सेवा सुविधा, तलब भत्ता पाईरहेका छन् ।
‘चैत १२ देखि बैशाख दोस्रो हप्ता (एक महिना) बन्द गर्यौँ’ उद्योगका उत्पादन अधिकृत अर्जुन अर्यालले भने ‘त्यसयता नियमित उत्पादन गरिरहेका छौँ ।’ उद्योगमा अझै तीन महिनालाई औषधी तयार गर्न पुग्ने कच्चा पदार्थ, जडिवुटी मौज्दात छ । अहिले किसानलाई जडिवुटी ल्याउन उद्योगले प्रतिबन्ध गरेको छ । ‘महिनौँ कोभिडको प्रभाव अझै रह्यो भने उत्पादन गरिएको औषधी बिक्री गर्न नसकेर समस्या हुन सक्छ’ उत्पादन अधिकृत अर्यालले भने ‘अहिलेसम्म समस्या खासै छैन ।’
उद्योगमा कार्यरत कामदार सहज रुपमा आवतजावत गर्न नसक्नु, कच्चा पदार्थ अभाव, चौतर्फी त्रास लगायत कारणले अन्यत्र उद्योग चलेको छैन तर गोरखा सदरमुकामको हरमटारीमा रहेको गोरखा आयुर्वेद कम्पनी भने यी सबै समस्याका बाबजुद संचालनमा छ ।
उद्योगले तयार गरेको रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका उत्पादनको बिक्री दर अहिले झनै बढेको छ । ‘ईमुनो केयर, अश्वगन्धा, सिलाजित, कफसिरफ, हर्वल चियाको उत्पादन भईरहेको छ’ उत्पादन अधिकृत अर्यालले भने ‘कोरोना संक्रमण हुनबाट बच्न प्रतिरोधात्मक क्षमता बढाउने औषधीको रुपमा पनि अहिलेको उत्पादन केन्द्रित छ ।’ कोरोना भाईरसको औषधी पहिचान नभएको, कोभिडबाट बच्न प्रतिरोधात्मक क्षमता बढाउनु मूख्य उपाए हो भन्ने बुझाई सर्व साधारणमा रहेकाले आयुर्वेद औषधीको बिक्री स्थानीय बजारमा नघटेको कम्पनीका फर्मासिस्ट अनिल शाहले बताए । नगर तथा गाउँपालिका कार्यालय, क्वारेन्टिन, आइशोलेसनमा रहेकाहरुलाई पनि आयुर्वेद कम्पनीबाट उत्पादित शक्तिबर्धक औषधी खुवाउने गरिएको छ ।
गोरखा आयूर्वेदले उत्पादन गरेको औषधीको अन्तराष्ट्रिय बजार मूख्य हो । कम्पनीको काठमाण्डौँमा ब्यापारिक केन्द्र समेत रहेको छ । लकडाउनका कारण बिदेश निर्यात गर्न र ठुला शहरमा पहिले माग धेरै हुने औषधीको बिक्रीदर भने घटेको छ ।
करिब ५५ वर्ष अघिदेखि सदरमुकाममा सञ्चालित गोरखा आयुर्वेद कम्पनीले उक्त जडिवुटीबाट करिब एक सय थरिका औषधी उत्पादन गर्छ । यी औषधी उत्पादन गर्न ५० देखि ६० प्रतिशत कच्चा पदार्थ अर्थात जडिवुटीका लागि भने छिमेकी देश भारतको भर पर्नुको बिकल्प छैन । बाँकी ४० प्रतिशत मध्ये २० प्रतिशत छिमेकी जिल्ला वा नेपाल भित्रबाटै र असुरो, हर्रो, बर्रो जस्ता केही जडिवुटी गोरखाबाटै आपूर्ति हुँदै आएको छ ।
आयुर्वेद कम्पनीप्रतिको सर्व साधारणको बढ्दो विश्वासले बजारमा उत्पादन अभाव भएको उद्योगको दावी छ । गोरखा आयुर्वेद कम्पनीले उत्पादन गरेका एक सय थरी आयुर्वेद औषधी नेपालमा मात्रै नभएर बिदेशमा समेत निर्यात हुने गरेको छ ।
गोरखा नगरपालिका, छोप्राक, खोप्लाङ, धार्चे गाउँपालिका, चुमनुब्री, सुलिकोटको बारपाक, लगायतका ठाउँबाट आयुर्वेद कम्पनीमा कच्चापदार्थ (जडिवुटी) ल्याईन्छ । किसानले बिक्रीका लागि कम्पनीसम्म ल्याउँछन् । अमला, हर्रो, बर्रो, मरिच, जेठीमधु, निसोध, असुरो, निम, जस्ता बनस्पती र त्यसको फल धेरै पाईन्छ । बन लसुन, कुरिलो जस्ता बनस्पती कतिपय किसानले खेती गर्ने गरेपनि यहाँ भएको उत्पादनले उद्योगको माग धान्न सकेको छैन । किसानहरुले ब्यवशायी रुपमा जडिवुटी खेती गर्न समेत सकेका छैनन् ।




