
गोरखामा चार जना संक्रमित बाँकी, ४७ जनाको रिपोर्ट आउन बाँकी
गोरखामा कोरोना संक्रमितको संख्या चार जना मात्र छन् । उनीहरु गोरखा क्याम्पसको आइसोलेशन, गोरखा अस्पतालको आइसोलेशन र भीमोदय मावि आरुघाटको आइसोलेशनमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘दुईजना गोरखा क्याम्पसको आइसोलेशन उपचाररत छन् । एकजना गोरखा अस्पतालको आइसोलेशन र एकजना भीमोदय मावि आरुघाटको आइसोलेशनमा उपचाररत छन्’, गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने ।
यसअघि जिल्लाभरका बिभिन्न आइसोलेशनमा ११९ जना भर्ना भएका थिए । उनीहरुमध्य ११४ जना उपचारपछि निको भएर घर फर्किसकेका र एकजनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हालसम्म गोरखामा ३५९० जनाको स्वाब संकलन भइसकेको छ भने ३११८ जनाको स्वाब परीक्षण भएको थियो । जसमध्य ११९ को रिपोर्ट कोरोना पोजेटिभ र २९९९ को नेगेटिभ आएको प्रशासन कार्यालयको अभिलेखमा उल्लेख छ ।
४७ जनाको भने रिपोर्ट आउन अझै बाँकी छ ।




