
गोरखाको हिमाली गाउँको हालखबर(फोटो फिचर)
अहिले गोरखाको सहरमा कोरोनाको डरले निषेधाज्ञा जारी छ । त्यसैले सहर सुनसान छ । यही बेला हिमाली गाउँहरु पनि सुनसान छन्, तर लकडाउन, सटडाउन वा निषेधाज्ञाले होइन, गहुँ बाली भित्र्याउने चटारोले हो ।
गोरखाको चुम उपत्यकाका किसानहरु अहिले गहुँ भित्र्याउने काममा व्यस्त छन् । ११ महिनाअघि लगाएको गहुँबाली एक सातादेखि भित्र्याउन थालेका हुन् ।

किसानहरु गहुँ भित्र्याउने सिजनमा गाउँ रित्तो बनाएर बारीमा जाने गर्छन् । बारीमै काम गर्छन् । बारीमै खान्छन् । बारीमै गाउँछन्, रमाइलो गर्छन् । ‘गहुँ काट्ने सिजनमा सबै जना बिहानै बारीमा पुग्छन् । घरमा त बूढाबूढी र केटाकेटी मात्र हुन्छन्’, स्थानीय साङ्गे दोर्जे लामा भन्छन्, ‘जसको मेला छ, उसले खेतालालाई खाना र खाजाको व्यवस्था बारीमै गरेको हुन्छ ।’
चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा नौवटा टोल रहेको छ । दुईसय ६५ घरधुरी रहेको सो उपत्यकाका बासिन्दा परम्परा अनुसार पर्म गरेर धमाधम गहुँ काटिरहेका सो वडाका अध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।

सबै गाउँले मिलेर पर्म गर्ने मौलिक परम्परा हो । ‘सबै टोलमा मुख्य गुम्बा हुन्छ । सुरुमा सबैजना मिलेर गुम्बाको गुठी जग्गाको गहुँ काट्ने, त्यसपछि मात्र व्यक्तिको गहुँ काट्ने चलन छ’, चुम गुम्बाका मुख्य लामा समेत रहेका उनले भने, ‘सबै घरका एकजनाका दरले खेताला आउने, दिनभर गहुँ काट्ने, साँझ सामुहिक खाजा खाने रमाइलो गर्ने चलन छ ।’ गहुँ काट्ने सिजनमा सबै जना बारीमै व्यस्त रहने, गाउँ रित्तो हुने उनको भनाइ छ ।
गहुँ काट्ने सिजनमा गाउँका किसानहरु बिहान सातबजे नै बारीमा पुग्छन् । बारीमै खाना, खाजा र साँझको खाना पनि खाएर रमाइलो गर्ने गर्छन् ।

३३ सय मिटर उचाइमा रहेको छेकम्पारको मुख्य बाली गहुँ, फापर र आलु हो । चिसो हावापानी भएकाले एकबर्षमा एक खेती मात्र हुने अर्का किसान छाङ लामा बताउँछन् ।
उनका अनुसार पछिल्ला बर्षहरुमा परम्परागत शैलि भन्दा किसानहरु आधुनिक मेसिन प्रयोग गरेर गहु काट्न आकर्षित भएकाछन् । ‘गहुँ काट्नका लागि किसानहरुले चाइनाबाट ल्याएको आधुनिक मेसिनसमेत प्रयोग गर्ने गरेका छन्’, उनले भने, ‘मेसिनले थोरै समयमा धेरै काट्ने र सजिलोसँग पनि काट्ने भएकाले किसानहरु मेसिन प्रयोग गर्न आकर्षित भएका हुन् ।’





