
देवलको सात घर पहिरोले तान्यो, ११ घर उच्च जोखिममा
निरन्तरको बर्षापछिको पहिरोले चुमनुब्री गाउँपालिका ३ देवलका सात घर बिस्थापित भएका छन् ।
गाउँभन्दा तलको पहिरोले घर तान्न थालेपछि उनीहरु मनिचेत भन्ने ठाउँमा त्रिपाल टाँगेर बसेका गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् ।
पहिरोले कान्छा गुरुङको दुईजनाको परिबार, रिमा गुरुङको चार जनाको परिबार, दलबहादुर गुरुङको चार जनाको परिबार, कुस्मान गुरुङको तीन जनाको परिबार, हर्क गुरुङको एक जनाको परिबार, रामकुमार गुरुङको चार जनाको परिबार र पलमान गुरुङको एक जनाको परिबार बिस्थापित भएका उपप्रमुख गुरुङले बताइन् ।
बिस्थापित भएका उनीहरुलाई आइतबार गाउँपालिकाले त्रिपाल दिएको गुरुङले जानकारी दिइन् ।
व्लाक्सिकङको पहिरो माथिमाथि सर्दै गाउँसम्म पुगेको र धमाधम घर चर्कन थालेको सो वडाका अध्यक्ष रामकुमार गुरुङले बताए । ‘यो पहिरोले अहिलेसम्म व्लक्सिकङ, नासिवाला र लोक्पा गाउँका २१ वटा घर र फिलिम प्रावि स्कूल बगाइसकेको छ । उनीहरुलाई मनिचेतमा पुनर्वास गराइसकिएको छ’, वडाअध्यक्ष गुरुङले भने, ‘अब यसपालि पनि सात घर परिबार बिस्थापित भए । ११ घर पनि उच्च जोखिममै छन् ।’ उनीहरुलाई पनि मनिचेत भन्ने ठाउँमै जग्गा व्यवस्था गर्ने उनले बताए ।
बूढीगण्डकीको बाढीले तानेर नाग्चेत गाउँलाई पनि जोखिम बनाएको वडाअध्यक्ष गुरुङ बताउँछन् । ‘नाग्चेतमा २५ घर जोखिममा छन् । तीमध्य छ घर उच्च जोखिममा छन्’, अध्यक्ष गुरुङ भन्छन्, ‘घरमुनि बूढीगण्डकीले तानेको पहिरो छ । घरमाथि पहिरोले ठूलो ढुंगो अड्काएर राखेको छ ।’ घट्टेखोला पनि पूरै गाउँ जोखिममा रहेको उनले बताए ।




