| आइतवार, कार्तिक २२, २०८३

भदौ १ गतेदेखि एकसातासम्म गोरखा जिल्ला ‘सटडाउन’

 

कोरोना संक्रमण न्यूनिकरण गर्न भन्दै भदौ एकगतेदेखि एक सातासम्म गोरखा जिल्ला सटडाउन गर्ने निर्णय भएको छ ।

जिल्लास्तरीय कमाण्डपोष्ट तथा कोभिड १९ व्यवस्थापन संकट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले जिल्लालाई सटडाउन गर्ने निर्णय गरेको हो ।

‘कोभिड १९ को संक्रमण फैलदै जाँदा जनस्वास्थ्यमा पर्न जाने गम्भीर संकटलाई मध्यनजर गरी भदौ एकगतेदेखि सातगते राती १२ बजेसम्म सटडाउन गर्ने निर्णय भएको छ’, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले भने, ‘यस अवधिभर अत्यावश्यकका बाहेक निजी तथा सार्वजनिक सवारी साधन पूर्ण रुपमा बन्द गर्ने, जिल्ला सदरमुकाम तथा गाउँपालिका, नगरपालिकाका कार्यालयहरुबाट अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।’

सदरमुकाम तथा बिभिन्न ठाउँमा रहेका वैँक तथा वित्तीय संस्थाहरुबाट बाह्य सेवा बन्द गर्ने, जिल्ला प्रवेश गर्ने सबै नाकाहरुबाट आवतजावत बन्द गर्ने निर्णय भएको उनले बताए ।

‘खाद्यान्न, औषधी र पेट्रोलियम पदार्थबाहेकका सबै पसलहरु पनि बन्द गर्ने निर्णय भएको छ’, उनले भने, ‘कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जथाभावी हुने आवतजावतलाई नियन्त्रण गर्न जिल्ला प्रवेश गर्ने नाकाहरुमा सुरक्षा व्यवस्थालाई थप कडा बनाउने, सवारी पासबाहेकका गाडीहरुलाई बेलुका नौ बजेदेखि बिहान छ बजेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ ।’

सुरक्षा ब्यवस्थालाई थप कडाई गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाउने निर्णय भएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्