| आइतवार, कार्तिक २२, २०८३

गर्भवतीलाई गाउँगाउँमा निशुल्क अल्ट्रासाउण्ड सेवा

दराैँदी समाचारदाताः गोरखाको शहिदलखन गाउँपालिकाले बच्चा र आमाको स्वास्थ्य अवस्था थाहा पाउन गरिने अल्ट्रासाउण्ड सेवा गाउँगाउँमा सुरु गरेको छ । ‘हामीले उपकरण र जनशक्ति गाउँपालिकाबाट राखेर हरेक वडाको स्वास्थ्य चौकीमा मासिक एक पटक यो सेवा सुरु गरेका छौँ’ गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले भने ।

नौ वटा वडा रहेको शहिदलखन गाउँपालिकाको हरेक वडामा स्वास्थ्य संस्था छ । गत वर्षको तथ्याङ्क अनुसार ८५ जना स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । सुत्केरी हुनु अघि गर्भवमा बच्चा रहँदा पटक-पटक गर्नुपर्ने भिडियो एक्सरे सेवाका लागि सदरमुकाम सम्म धाउनुपर्ने, पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता अब हटेको छ । ‘उपचार पनि महँगो, गर्भवतीलाई सदरमुकाम सम्म जान आउन पनि समस्या भएपछि हामीले स्वास्थ्य चौकीबाटै घुम्ती रुपमा यो सेवा दिने निणर्य गरेका हौँ’ अध्यक्ष थापाले भने । जन्मनु अघि नै बालवालिकाको स्वास्थ्य अवस्था थाहा पाउन यो सेवा निशुल्क संचालन गरिएको उनले बताए । ‘बालवालिका सबै स्वस्थ जन्मिउन भन्ने उद्देश्यले यो सेवा थालेका हौँ’ उनले भने ।

बुङ्कोट स्वास्थ्य चौकीबाट अहिले सेवा चलिरहेको गाउँपालिका स्वास्थ्य शाखाका बिरेन्द्र श्रेष्ठले बताए । मासिक एक पटक एउटा स्वास्थ्य संस्थामा जाने र त्यसको सेवा क्षेत्र भित्रका गर्भवतीलाई बोलाएर सेवा दिइन्छ । वृद्धहरुलाई घरघरमा पुगेर सेवा दिने योजना यो वर्षको कार्यक्रममा गाउँपालिकाले राखेको थियो ।

कोभिड १९ को प्रभावका कारण उक्त कार्यक्रम भने भदौ लागेपछि मात्रै सुरु हुने स्वाथ्यकर्मी श्रेष्ठले बताए । गाउँपालिकाले ल्याब टेक्निसियन राखेर घुम्ति रुपमा सेवा दिन थालेपछि कोभिड १९ को काम छिटो र प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । ‘छिटो र धेरै काम भएको छ, हामीलाई कोरोना संक्रमितको पहिचान, कन्ट्रयाक्ट टे्रसिङमा पनि गाउँपालिकामै प्राविधिक भएकाले सजिलो भयो’ उनले भने । गाउँघर खोप क्लिनिक नियमित संचालन भईरहेको उनले बताए ।

गाउँपालिकाले हरेक वर्ष स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउने गरेको अध्यक्ष थापा मगरले बताए । ‘हामीले सबै सेवा पालिका भित्रे दिने गरी कार्यक्र बनाउने गरेका छौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्