| आइतवार, कार्तिक २२, २०८३

कोरोनाको जोखिम बढेपछि आरुघाट बजार बन्द, नौ जनाको कन्ट्याक ट्रेसिङ

भारतबाट फर्किएका एक पुरुषमा कोरोना संक्रमण देखिएपछि गोरखाको आरुघाट बजार शुक्रवारबाट बन्द भएको छ । भारतीय सेनामा कार्यरत एक पुरुष १७ गते आरुघाट आएका थिए ।

संक्रमण पुष्टि भएका पुरुषको परिवारका पाँच र सँगै क्वारेन्टिनमा बसेका चार गरी नौ जनाको पिसिआर जाँच गर्न स्वाब संकलन गरेर पठाइएको आरुघाट गाउँपालिकाका स्वास्थ्य संयोजक बिजय श्रेष्ठले बताए ।

अहिले आरुघाट गाउँपालिकामा २९ जना क्वारेन्टिनमा रहेका छन । क्वारेन्टिनमा रहेका १९ जनाको पनि स्वाब संकलन गरिएको उनले बताए । ‘पिसिआर गरिएकाहरुको रिपोर्ट नेगेटिभ आयो भने बजार खुल्ने अन्यथा सिल गर्नुपर्ने अवस्था हुन सक्छ’ स्वास्थ्य संयोजक श्रेष्ठले भने ।

१८ गते उनी मान्बु स्थित पुख्र्यौली घर गएको र १९ गते आरुघाट फर्किएका थिए । स्थानीयले क्वारेन्टिनमा बस्न अनुरोध गरेपछि भीमोदय माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्न गएका ती पुरुषमा साउन २२ गते कोरोना पुष्टि भएपछि समुदायका मानिसमा त्रास बढेको हो ।

‘हामीले ती युवकको नजिक सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दैछौँ’ आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले भने ‘त्रास बढेकाले तत्कालका लागि बजार बन्द गर्न र सुरक्षित भएर बस्न अनुरोध गरिएको हो ।’ वडा कार्यालयले कन्ट्याक्ट ट्रेसिङको नतिजा नआउँदासम्म आउजाउ र बजार बन्द गर्न अनुरोध गरेको हो ।

अधिकांस पसल, ब्यवशाय शुक्रबार बन्द रहेको उद्योग बाणिज्य संघ आरुघाट बजार ईकाईका सचिव उत्तम श्रेष्ठले बताए । ‘वडा कार्यालयले माईकिङ गरेर बजार बन्द गर्न अनुरोध गरेपछि धेरैजसो बन्द भए’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्