
कोचाकोच यात्रु, दोब्बर भाडा
शिव उप्रेतीः मङ्गलबार दिउसो साँढे १ बजे गोरखा हरमटारीको आरुघाट बसपार्क पुग्दा दुइटा बस आरुघाट र पाँचखुवा देउराली छुट्ने तयारीमा थिए । चालकले बस स्टार्ट गरिसकेका थिए । सहचालक यात्रु भित्र्याउँदै ।
आरुघाट बसपार्क सँधै घुइँचो हुने ठाउँ हो । बस पर्खनेको घुइँचो उत्तिकै थियो, चढ्नेको घुइँचो उस्तै । बसभित्र यात्रु खचाखच थियो । प्रत्येक सिटमा दुईजनाका दरले यात्रु भरिएका थिए । कसैले मास्क लगाएका थिए, कसैले लगाएका थिएनन् ।
त्यहाँको दृष्यले कोरोना महामारी बिर्साउँथ्यो, दशै, तिहार आएको सम्झाउँथ्यो ।
कोरोना महामारीका कारण आव्हान गरिएको चार महिने लकडाउन पछि सरकारले अन्तरजिल्ला (छोटो रुट)मा सार्वजनिक यातायात चलाउने निणर्य गर्यो । सार्वजनिक यातायात चलाउनका लागि केही मापदण्ड पनि बनायो ।
एउटा सिटमा एक जना मात्र बस्ने, उसले दुवै सिटको(दोब्बर) भाडा तिर्नुपर्ने । भौतिक दुरी कायम गर्नुपर्ने, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीको प्रयोग गर्नुपर्ने इत्यादि ।

यी नियमहरुमध्य एउटा मात्र पूणर् रुपमा पालना भएको थियो, ‘प्रत्येकले दोब्बर भाडा तिर्नुपर्ने’ ।
‘आरुघाटसम्मको तीनसय रुपैयाँ लिन्छौं’, चालक फणिन्द्र देवकोटाले भने, ‘दोब्बर लिनू भनेको छ नि त सरकारले ।’ ‘म गैरीछापसम्म जाने हो, दुईसय रुपैँया तिरेको छु’, अर्का यात्रु रामबहादुर बानियाँले भने, ‘भन्ने बेला दोब्बर भाडा लिनू, सिटमा एकएक जना मात्र बस्नु भनेको छ, तर देखिहाल्नु भयो नि यस्तै हो, सबै सिटमा दुईदुई जना बसेका छौं ।’ ‘अलग अलग बस्नू है भन्छौँ, तर यात्रुहरु हामी एउटै घरका आफन्त हौं, एउटै सिटमा बस्छौं केही फरक पर्दैन भन्छन्’, सहचालक रोशन श्रेष्ठले ढाकछोप गर्ने प्रयास गरे । ‘ए, हामी कसरी एउटै परिबारको ? उहाँ गैरीछाप जाने, म देउराली जाने । तपाईँले नै राखेको होइन ?’ एक जना प्रौढ पुरुषसँग बसिरहेकी किशोरीले प्रतिकार गरी । ‘तपाई यो बसमा नचढ्नू, यहाँ एकेक जना बस्ने सिट छैन’, सहचालक आक्रमक देखियो । ‘यी देखिहाल्नु भयो नि, यस्तो देखिन्छ कि मानौं, अहिले कतै पनि कोरोना फैलिएको छैन’, आरुघाट बसपार्कका व्यवसायी भरत भट्टले भने, ‘न मास्क लगाउनुस् भनेको मान्छन्, न भीडभाड नगर्नू भनेको मान्छन् ।’

यातायात व्यवसायीले पर्याप्त गाडी नचलाएका कारण यात्रुको भीड लागेको सो ठाउँमा ड्युटीमा खटिएका टूाफिक प्रहरी राजु थापा मगरले बताए । ‘पर्याप्त गाडी नै छैन, अनि सीमित गाडीमा यात्रु कोचाकोच हुने नै भयो’, उनले भने ।
तर यातायात व्यवसायी भने बीचबीचमा झर्ने यात्रु राख्नु पर्ने भएकाले एउटै सिटमा दुईजना बस्नु परेको दाबी गर्छन् । ‘हामीले एउटा सिटमा एकजनाको मात्र टिकट काटेका छौँ’, दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, ‘सबै कुरा भने जस्तै गरेर त साध्यै लाग्दैन नि । यसरी पनि धन्न चलाएका छौं ।’




