
काठमाडौं जाने पासका लागि यस्तो छ नयाँ प्रावधान
के तपाईलाई काठमाडौं जानुपर्ने छ ? कोरोनाको त्रास बढिरहेको वर्तमान अवस्थामा यसअघिको व्यवस्था खारेज गरी पासका लागि नयाँ ब्यबस्था लागु भएको हो ।
कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले काठमाण्डौँ जाने पास कस्ता ब्यक्तिलाई दिने भन्ने मापदण्ड तोकेको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा आईतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको हो ।
आफैँ काजकिरिया बस्न जाने वा सकेर फर्कने, अस्पतालबाट रिफर गरिएका, जिल्लामा उपचार हुन नसक्ने बिरामी, चालक र कुरुवा सहित तीन जनालाई उपत्यका जान अनुमती दिने निर्णय बैठकले गरेको सुचना अधिकारी हर्क रोकाले जानकारी दिए ।
हवाई टिकट सुनिश्चित भएका बिदेश जाने ब्यक्ति, अदालती कामकाज र दिर्घरोगीको हकमा यहाँ उपचार र औषधी नपाउने भनी अस्पताल वा चिकित्सकले सिफारिस गरेको पत्र भएकाहरुले पनि सहजै काठमाण्डौँ जाने अनुमती पाउनेछन् ।
नीजि क्षेत्रमा काम गर्नेहरुको हकमा कार्यरत कार्यालयको पत्र सहित वडा कार्यालयको सिफारिसमा मात्रै अनुमती दिईनेछ । संक्रमणको जोखिम अझै कम नभएकाले जिल्लाबासीलाई सुरक्षित राख्न अत्यावश्यक काम बाहेक राजधानी लगायत अन्यत्र आउजाउ गर्न रोकिएको प्रजिअ भट्टराईले बताए ।
बैठकले दुई मिटर सामाजिक दुरी कायम गर्ने, मास्क सेनिटाईजरको अनिवार्य प्रयोग गर्ने, पटक पटक साबुनपानीले हात धुने जस्ता आधारभुत स्वास्थ्य सुरक्षमा ध्यान नदिए संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने निर्णय गरेको छ । बैठकमा सुरक्षा निकायका प्रमुखहरु, जिल्ला समन्वय प्रमुख, नगरप्रमुख, राजनीतिक दलका जिल्ला स्तरीय नेताहरुको समेत उपस्थिती रहेको थियो ।




