| आइतवार, कार्तिक २२, २०८३

मान्छे मारेका निमा दोर्जेलाई १२ बर्ष कैद

दराैँदी समाचारदाताः चुमनुब्री गाउँपालिका १ साम्दोका तेञ्जिङ दोर्जे लामालाई कुटपिट गरी हत्या गरेका स्थानीय युवा निमादोेर्जे लामालाई जिल्ला अदालत गोरखाले १२ बर्ष कैदको फैसला सुनाएको छ ।

सरकारी वकिल कार्यालयले जन्मकैद माग दाबी गरी मुद्दा दर्ता गरेका लामालाई सोमबार अदालतले १२ बर्ष कैद सजायँको फैसला सुनाएको स्रेस्तेदार विनोद घिमीरेले जानकारी दिए ।

मुलुकी अपराध संहिता २०७४ दफा १७७ (२) को कसुरमा वादीलाई जन्मकैदको व्यवस्था छ । तर जिल्ला न्यायधीश रमेशकान्त अधिकारीको इजलासले लामालाई सोही ऐनको १७९(१) बमोजिम १२ बर्ष मात्र कैद सजायँको फैसला गरेको हो ।

सो दफामा कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसुरदारले आत्मसंयमको शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान मारेमा १० देखि १५ बर्षसम्म कैद सजायँ र एकलाखदेखि एकलाख ५० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ ।

अदालतले निमादोर्जेलाई बाह्र बर्ष कैद सजाय एक लाख २० हजार रुपैँया जरिवाना र मृतकका हकवालालाई ५० हजार रुपैँया क्षतिपूर्ति दिने फैसला सुनाएको स्रेस्तेदार घिमीरेले बताए ।

साम्दोका ३७ बर्षका लामाले सोही ठाउँ निबासी ६८ बर्षका तेञ्जिङ दोर्जे लामालाई गत बर्षको भदौ १७ गते कुटपिट गरी हत्या गरेका थिए । ‘एकफेर दिउसो एक बजे लात्ति, मुड्की प्रहार गरी कुटपिट गरेका र फेरि दिउसो चार बजे पनि घाइते भएका उनलाई कुटपिट गरी मरणासन्न बनाएपछि उनको राती पौने ११ बजे मृत्यू भएको छिरिङवाङ्दी लामाले दिएको जाहेरीमा उल्लेख छ’, स्रेस्तेदार विनोद घिमीरेले भने ।

प्रतिक्रिया दिनुहोस्