
मनकामनाकी एक वृद्धको हत्या अभियोगमा युवक पक्राउ
गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ कि ७१ वर्षिया वृद्ध कृष्णकुमारी आलेको हत्या अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सोही वडाको डाँडागाउँका अन्दाजी १८ वर्षका हुकमान चुमि मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई मझुवा स्थित आँबुखैरेनी र मनकामना जोड्ने दरौँदी पुल नजिकैको पसलबाट पक्राउ गरिएको स्थानीय हरिकुमार श्रेष्ठले बताए ।
गत वर्ष पनि ति युवक एक युवतीलाई जवरजस्ती हातपात गरेको अभियोगमा पक्राउ परेका थिए । उमेर कम भएकाले उनलाई त्यतीबेला सुधार गृहमा पठाउने गरि छाडिएको स्थानीय बताउँछन् । ति युवक गाउँमा ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका थिए ।
साउन ९ गते खेतमा पानी लगाउन गएकी महिलालाई हत्या गरेर फरार भएका ति युवकले किन, के कारण वृद्धाको हत्या गरे भन्ने यकिन भएको छैन । प्रहरीले उक्त विषय अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।
ति युवकले भने आफुले हत्या गरेको स्विकार गरिसकेका स्थानीयले बताएका छन् । मदिरा सेवन गरेर आवेगमा हत्या गरेको हुन सक्ने अनुमान स्थानीयको छ ।




