| आइतवार, कार्तिक २२, २०८३

जब जवाङ जाग्यो, स्थानीयको छिनमै बिल्लीबाठ

शिव उप्रेतीः पृथ्वीराजमार्ग जवाङखोलाका १० बर्षीय सुजन घले र आयुस मल्ल अहिले पनि दिनहूँ आफ्नु घर भएको ठाउँमा जान्छन् । ‘केही’ भेटिन्छ कि, देखिन्छ कि भन्ने आशामा टहलिरहन्छन् । आधाआधी पुरिएका, कुनै उत्तानो परेका, कुनै कोल्टे, कुनै पूर्व, कुनै पश्चिम फर्किका टिूपर, एक्साभेटरहरु हेर्छन्, रमिता हेर्न आउने चिने, नचिनेका मान्छेहरुसँग एक दुई कुरा बोल्छन् । साँझतिर निराशा मात्र लिएर खालिहात फर्कन्छन् ।

चारदिनअघिसम्म जवाङ खोलामा उनीहरुको घर थियो । परिबार थिए । स्कूल बिदा भए पनि गाउँघरमा खेलेर दिन बितेको पत्तो हुन्नथ्यो ।

तर अहिले त्यहाँ जवाङ खोलाको ठूलो बगर छ । माथि कहाँकहाँबाट पल्टिदै आएका बडेबडेमाका ढुङ्गा छन् । बगरभित्र आधाआधि दबिएका ठुल्ठूला रुखका हाँगाबिँगा छन् ।

चारदिनअघिको भीषण बर्षापछि लेकदेखि ताण्डव नाच्दै आएको जवाङले सुजन र आयुसलगायत अरु छ वटा घर बगाएर नजिकैको त्रिशुलीमा मिसायो । त्यसपछि कहाँ पुग्यो, कसैलाई थाहा छैन ।

सोमबार बिहान भएको त्यो नमिठो घटना सम्झन पनि मन छैन । बिर्सुँ भन्दा पनि नसकिने स्थानीय संगीता कँडेल बताउँछिन् । ‘बिहानभरि पानी परेपछि त्याँ तलको छाँगो धेरै ठूलो आयो । बारीमा भल पस्यो भनेर हामी भल पन्छ्याउन लाग्यौँ’, कँडेल भन्छिन्, ‘तर एक्कासी यस्तो ठूलो भल आयो कि, पिँडीमा राखेको मोबाइल लिन जान पनि सकिएन । तीन तोला सुन थियो । दुखसुख गरेर कमाएको अलिकति पैसा थियो । सुनचाँदी, भाँडाकुँडा केही झिक्न पाइएन । तर लगाएको लुगा बाहेक अब केही पनि बाँकी छैन ।’ अहिले मौवाखोलामा कुखुरा फाराममा सुत्ने गरेको उनले बताइन् ।

उनीजस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका १० जवाङका सुष्मा ठकुरी, पर्वे घले, मोहन घले, शुक्र घले, माया मल्लको पनि बिल्लीबाठ भएको छ । उनीहरुमध्ये अहिले एकजना मझिमटारको आफन्तको घरमा बस्छन् । बाँकी पाँचघर मौवाखोलाको चर्चमा खानेबस्ने गर्छन् ।

‘माथि पहिरोले थुनिएको रहेछ । बिहान साँढे १० बजेको थियो एक्कासी ह्वात्तै आयो’, उनले भनिन्, ‘यता भाग्यो यतै पहिरो आउँछ, उता भाग्यो, उतै आउँछ । रुवाबासी भयो । भाग्दाभाग्दै लुगासुगा कति च्यातिए, कटि चोटपटक लागे हिसाबै छैन ।’ उज्यालोमा भएर मात्र मान्छेहरु जोगिएका नत्र मान्छे सबै बढारेर लाने उनले बताइन् । ‘त्यसपछिको दुईदिन शेरबहादुरको कुखुरा फाराममा सुतियो । अहिले चर्चमा बसेका छौं’, उनले भनिन्, ‘लुगा पनि मागेर लगाएका छौँ’, उनले भनिन्, ‘खै राहत दिन्छ रे भन्थे, चार दिन भइसक्यो कोही आएका छैनन्’, उनले भनिन् ‘अलिअलि होटल गरेर कमाइएको थियो । तर अहिले एकैछिनमा जोगी भइयो ।’

जवाङले रौद्र रुप लिएपछि स्थानीय अन्नपूणर् क्वाइरिज प्रालिको १५ वटा ट्रिपर, पाँचवटा एक्साभेटर, क्रसरप्लाण्ट, बकेट, बे्रकर सबै एकैछिनमा तहसनहस बनाएको छ । ‘कति क्षति भयो भनेर हिसाब गर्न पनि सकेको छैन’, प्रालिका भोजराज कोइरालाले भने ।

त्यहाँ रहेको प्रहरी बिट पनि बगाएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्