| आइतवार, कार्तिक २२, २०८३

अविरल वर्षाका कारण बाढी पहिरोको बितण्डा, एक महिलाको मृत्यू, दर्जन घर विस्थापित

दराैँदी समाचारदाताः आइतबारदेखिको निरन्तरको बर्षपछिको पहिरोले पुरिएर गोरखामा एक महिलाको मृत्यू भएको छ । गण्डकी गाउँपालिका ४, फुजेल कौदीकी एक महिलाको सोमबार दिउसो साँढे बाह्रबजेतिर पुरिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।

बाख्राको खोरसँगै झरेको पहिरोले बगाएर ३६ बर्षकी लक्ष्मी गुरुङको मृत्यू भएको स्थानीय कृष्ण दवाडीले जानकारी दिए । खोरमा रहेका आठ वटा बाख्रा पनि पुरिएर मरेको उनले बताए ।

घटनास्थलतर्फ प्रहरी गइरहेको तर पुग्न नसकेको प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

त्यस्तै बारपाक सुलीकोट गाउँपालिका ४ नालपाङ जौबारीका काम गुरुङ र बिसन गुरुङको घर पनि पहिरोले बगाएको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।

त्यस्तै गोरखा नगरपालिका १३ तीनकिलोका भीमबहादुर मगरको घर पुरेको स्थानीय देवे गुरुङले जानकारी दिए ।

गाउँमा पहिरो पसेपछि बारपाक सुलीकोट गाउँपालिका १ तसराका छ घर बिगत एक महिनादेखि बिस्थापित भएका छन् । मनसुन सुरु भएदेखि नै स्थानीयबासी घर छाडेर सुरक्षित ठाउँमा त्रिपाल टाँगेर बसेका स्थानीय जीत घलेले जानकारी दिए ।

सोमबारको पहिरोले गण्डकी गाउँपालिका २ पातीस्वाँराका मैते परियारको घर र गोठ भत्किँदा पाँचवटा बाख्रा र १९ वटा कुखुरा पुरिएको वडा सचिव सागर पौडेलले जानकारी दिए । त्यस्तै खड्गबहादुर गुरुङको पनि दुईवटा बाख्रा पहिरोमा पुरिएको, धनबहादुर गुरुङको गोठ पनि पुरिएको उनले बताए । सोही गाउँमा बस्ने ५० घरधुरीका बासिन्दा पहिरोको त्रासले पूर्व गाविसको भवनमा सरेर बसेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै सिरानचोक गाउँपालिका १ केरावारीकी पूणर्माया तामाङको गोठ भत्किँदा सात वटा बाख्राको मृत्यू भएको पनि कार्यालयले जनाएको छ ।

गोरखा नगरपालिका ९ टक्सारमा पहिरोका कारण छ घर जोखिममा परेको छ । स्थानीय चिजकुमारी थापा पुलामी, जेनिस थापा पुलामी, केशव थापा पुलामी, अशोक थापा पुलामी, इश्वर पुलामी मगर, किरण थापा पुलामीको घर जोखिममा परेको स्थानीय राजकुमार थापा पुलामी मगरले बताए । घर जोखिममा परेपछि स्थानीयले खाद्यान्न झिकेर छिमेकीको घरमा सार्न थालेका छन् ।

त्यस्तै भीमसेनथापा गाउँपालिका ५ बगुवाको रामचन्द्र भट्टराईको घर पहिरोले बगाएको छ । साथै आसपासका गणेश भट्टराई, कुमार भट्टराई, आइतीमाया भट्टराई, सिख्रेका हरि दानकोटीको घर जोखिममा परेको गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए । झिँगटेका रेशम नेपाली पहिरोका कारण बिस्थापित बनेका पाण्डेले बताए । त्यस्तै तान्द्राङका राजेन्द्र अम्गाई र गोपालेघुम्तीको अर्को एक घर पनि भत्किएको पाण्डेले बताए ।

त्यस्तै बेनिघाट, आरुघाट, लार्के सडकको हावाडाँडा र गाई ओढारको बीच जंगलमा धेरै ठूलो पहिरो गएर अबरुद्ध भएको धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।

बाह्रसय रोपनी खेत डुब्यो

लगातारको वर्षातले बाह्रसय रोपनी खेत डुबानमा परेको छ । कृषि ज्ञान केन्द्रमा बिभिन्न ठाउँका किसानले जानकारी गराएको बिवरण अनुसार करिब बाह्रसय रोपनी क्षेत्रफलमा लगाएको धानमा बाढी पसेको अनुमान गरिएको छ ।

‘पालुङटार वडा नम्बर ९,१ भुसुण्डे खोला, सिरानचोक ४, गोरखा नगरपालिका १० दरौँदी फाँट, भीसमेन थापा ६, ८ लगायत ठाउँमा खेती डुबाएको छ’, ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले भनिन् । खोला छेउका खेतहरुमा बाढी पसेको र गण्डकी गाउँपालिकाको केही ठाउँमा पहिरोका कारण मकै बालीमा क्षति पुगेको किसानहरुलाई उधृत गर्दै कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पानी मात्रै जमेको खेतमा वर्षातपछि पानी कम हुँदा उब्जनी लिन सकिने तर बाढी पसेको खेतमा भने नसकिने ज्ञान केन्द्रकी प्रमुख थापाले बताईन । ‘यो बेलामा पानी परिरहेकाले खेतीबाली जोगाउन भने खेतबारीमा जाने अवस्था छैन’, उनले भनिन् ‘वर्षात हुनुअघि सुरक्षाको उपाए अपनाउनुपथ्र्यो, अब रोकिएपछि ध्यान दिने हो ।’ बाढीले धान बगाएको खेतमा पुन रोप्ने अवस्था आउन सक्ने र त्यस्तो हुँदा अझै समय नघर्किएको उनले बताईन् ।

मौवाखोलामा सडक भासिँदा पृथ्वीराजमार्गमा सवारी अवरुद्ध

पृथ्वीराजमार्गको मौवाखोला भन्ने ठाउँमा सडक भासिँदा आउजाउ अवरुद्ध भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको सिमानामा पर्ने मौवाखोलामा पुलछेउको सडक कटाउनका कारण भसिएको हो । सडक भासिँदा सोमवार दिउँसो देखि सवारी साधन आउजाउ बन्द भएको इच्छाकामना गाउँपालिका अध्यक्ष गिता गुरुङले बताईन ।

‘पृथ्वीराजमार्गको तीन चार ठाउँमा र नारायण मुग्लिन सडक खण्डको पनि ठाउँ ठाउँमा पहिरो खसेको छ’ उनले भनिन् ‘गाउँपालिकाको डोजरले पन्छाउने काम भईरहेको छ ।’ साना पहिरो पन्छाएपनि मौवाखोलामा ठुलो पहिरो र सँगै सडक भासिएकाले काम गर्न नसकिएको उनले बताईन । राजमार्गमा यात्रा गर्दा सचेत रहन समेत उनले यात्रुहरुलाई अनुरोध गरिन ।

रोकिदै – एकतर्फी खुल्दै गोरखा-खैरेनी सडक

लगातारको वर्षातसँगै पहिरो जाँदा शनिवार साँझदेखि गोरखा- आँबुखैरेनी सडक खुल्दै अवरुद्ध हुँदै गरेको छ । आईतवार बिहानभर अवरुद्ध सडक सोमवार पनि अधिकासं समय अवरुद्ध बन्यो । सोमवार बिहान गोरखा नगरपालिका १३ मझुवामा पहिरो खस्दा अवरुद्ध सडक बिहान ११ बजे खुलेको थियो ।

गोनपा १२ सात किलोमोड, गोरखा नगरपालिका ९ ठिगुरेश्वाँरा, बाहूकिलो लगायत ठाउँमा सडकमा पहिरो गएको छ । ठाउँठाउँमा पहिरो जाने क्रम नरोकिँदा गोरखा भित्रने र गोरखाबाट बाहिर जाने सवारी साधन लामो समय सडकमा रोकिएका थिए ।

चहलपहल घट्यो

लगातार वर्षात भएपछि गोरखा सदरमुकामको बजार क्षेत्रमा मानिसको चहलपहल घटेको छ । सोमवार दिनभर गोरखा लगायत आसपासका ठाउँमा पानी परिरह्यो । बजार पनि अन्य दिन भन्दा कम खुलेका थिए भने बित्तिय संस्थामा पनि सेवा लिनेको चाप कम थियो । सवारी साधन फाट्ट फुट्ट चलेपनि अन्य दिन जस्तो सडक ब्यस्त थिएन ।

प्रतिक्रिया दिनुहोस्