
गोरखाको कोरोना अपडेटः गोरखा क्याम्पसको आइसोलेनमा ६ र अस्पतालमा ३ जना मात्रै
दराैँदी समाचारदाताः कोभिड १९ को संक्रमण पुष्टि भएपछि थप उपचारका लागि आइसोलेसनमा बसेकाहरु निको भएर घर फर्कने क्रम बढेको छ । सदरमुकामको गोरखा क्याम्पसमा निर्माण गरिएको क्वारेन्टिन सहितको आइसोलेनस केन्द्रमा अहिले छ जना मात्रै उपचररत छन् ।
भीमसेन थापा र सिरानचोक गाउँपालिकाका दुई, दुई जना, अजिरकोट र शहीदलखन गाउँपालिकाका एक,एक जना आइसोलेसनमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । केन्द्रमा अहिले छ जना पुरुष मात्रै रहेको मेडिकल अधिकृत कमल राज रोकाले बताए । आईतवार बिहान मात्रै पाँच जना डिस्चार्ज भएका थिए । पालुङटार नगरपालिकाका तीन जना, शहिदलखन र गोरखा नगरपालिकाका एक/एक जना कोरोना जितेर घर फर्किएका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।
४६ जना पुरुष र ८ जना महिलाले कोरोना जितेर घर फर्किएका छन् । उक्त केन्द्रमा उपचार गराएका मध्ये सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिकाका ६ महिला र २३ पुरुष थिए । पालुङटार नगरपालिकाका १० जना, शहिदलखन गाउँपालिकाका ७ जना, गोरखा नगरपालिका तीन, बारपाक सुलिकोट दुई, सिरानचोक दुई र अजिरकोटका १ जना रहेका छन् । यस्तै गोरखा अस्पतालमा एक महिला सहित तीन जना मात्रै कोभिड १९को संक्रमण पुष्टि भएकाहरु रहेका छन् । गण्डकी गाउँपालिकाको आइसोलेसनमा भएका सबै एक साता अघि डिस्चार्ज भएको र कोहीपनि नरहेको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए ।
गोरखा जिल्लाभर कोरोना संक्रमितको सख्या एक सय दुई पुगेको छन भने एक जनाको ज्यान गएको छ । नौ जना उपचाररत छन् भने अन्य सबै निको भएर घर फकिएका छन् । स्वाव संकलन गरिएका मध्ये अझै चार सय जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।




