
गोरखा नगरपालिकाद्वारा २५ विद्यार्थीलाई छात्रवृत्ति, १० शिक्षक पुरस्कृत
दराैँदी समाचारदाताः गोरखा नगरपालिकाले नगरप्रमुख छात्रवृत्ति कार्यक्रम अन्र्तगत २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
नगरप्रमुख राजनराज पन्तले आईतवार कार्यालयमा आयोजित एक समारोहका बिच नगरभित्रका १४ वटै विद्यालयबाट एक/एक जनासहित २५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।
कक्षा ८ को परीक्षाको नतिजा, गरिव, जेहेन्दार, दलित, मुस्लिम, जनजाति, अनाथ बालवालिकालाई छात्रवृत्ति प्रदान गरिएको गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम बरालले बताए । नगर भित्रको छात्रवृत्ति छनौट समितिको सिफारिसका आधारमा जनही १० हजार रुपैयाँका दरले नगद प्रदान गरिएको उनले बताए ।
यस्तै नगरपालिकाले शिक्षकको लघु अनुसन्धान कार्यक्रम अन्र्तगत उत्कृष्ट भई छनौटमा परेका १० जना शिक्षकलाई सम्मान गरेको छ । नगरपालिकाले शिक्षकहरुको समस्या, समाधानको उपायसहित प्रस्ताव माग गरेको र सोही अनुसन्धान रिपोर्टका आधारमा नगद १०/१० हजार रुपैयाँले शिक्षकहरुलाई पुरस्कृत गरिएको बरालले बताए । पुरस्कृत हुनेहरुमा उदयबहादुर भट्ट, गोपालबाबु मरहट्टा पुरुषोत्तम भट्टराई, दुर्गा अधिकारी, टेकबहादुर उपरकोटी, कोपिला पौडेल, अनिल लामिछाने, अर्जुनप्रसाद देवकोटा, गणेशराज सापकोटा, सिता खत्री रहेका छन् ।




