
गोरखा अस्पतालको ओपीडी सेवा नियमित
दराैँदी समाचारदाताः ५० बेड क्षमताको गोरखा अस्पतालले कोभिड १९ को संक्रमण अघिजस्तै ओपीडी सेवा नियमित सुरु गरेको छ । जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको र अस्पतालबाट नियमित सेवा पाउनुपर्ने बिरामीले सेवा लिन नपाएकाले सेवा सुरु गरिएको सुचना अधिकारी कृष्ण ढकालले बताए ।
‘साउन १ गतेदेखि हामीले नियमित ओपीडी सेवा सुरु गर्यौँ’ उनले भने ‘कोरोना भाईरसको संक्रमण बढेका बेला यो सेवा अस्पतालले चैतदेखि बन्द गरेको थियो ।’ दिर्घरोगी, ज्वरो र कोरोना संक्रमणको लक्षण देखिएकालाई मात्रै अस्पतालले सेवा दिँदै आएको थियो । अहिले गोरखा अस्पतालमा एक गर्भवती सहित तीन जना कोरोना संक्रमित उपचाररत छन् । २४ बेड रहेको अस्पतालमा सातवटा वेड कोरोना संक्रमितको उपचारका लागि राख्ने र अन्य वेड नियमित उपचारमा आउनेहरुका लागि प्रयोग गर्ने गरी ब्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।
‘साधारण चेकजाँच गर्ने मानिसहरु आउने क्रम घटेको छ, शुल्क तिरेर अन्यत्र चेकजाँच गर्नुपर्ने अवस्था अब हुँदैन’ स्वासथ्यकर्मी एवं सुचना अधिकारी ढकालले भने ‘सर्वसाधारण नागरिकको सुविधाका लागि अस्पतालले ओपीडी सुरु गरेको हो ।’ सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार भएको सुनेपछि सर्वसाधारण अन्यत्र जाँच गर्न जाने, समान्य स्वास्थ्य समस्या परेकाहरु चेकजाँच नै नगर्ने क्रम बढेको छ । ‘कोरोना संक्रमित राखेको भन्दैमा डराउनु पर्दैन’ सुचना अधिकारी ढकालले भने ‘सुरक्षाका सबै उपाए अपनाएका छौँ, अब ढुक्क भएर चेकजाँच गराउन गोरखा अस्पताल आउँदा हुन्छ ।’
यस अघि अस्पतालले गेट बाहिरै टेण्ट टाँगेर ज्वरोका बिरामी, दिर्घरोगी, आकस्मिक सेवा र सुत्केरीलाई प्राथमिकतामा राखेर सेवा दिएको थियो । केही समय अघि २४ जना सम्म कोरोना संक्रमित अस्पतालमा रहेका थिए । उनीहरु निको भएर घर फर्किसके । ‘संक्रमण दर पनि घटेको छ’ स्वास्थ्यकर्मी ढकालले भने ‘नियमित सेवा लिएका धेरै बिरामीले केही समय सेवा लिन पाएनन् हामीले दिन पनि सकेनौँ ।’ कोरोनाको डरले उपचार गराउन नगएका कारण अन्य रोगले ग्रसित बनाउँदै जान सक्ने भएकाले सेवा नियमित गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले स्त्रिरोग विषेशज्ञ सहित एमडिजिपी डाक्टरबाट सेवा दिन थालेको छ । ‘बिस्तारै कोरोना संक्रमित अस्पतालमा नभएपछि हामीले शल्यक्रिया सेवा पनि सुरु गर्ने सोचमा छौँ’ ढकालले भने । अब गोरखा अस्पतालमा बिहान १० बजेदेखि दिउँसो तीन बजे सम्म ओपिडि टिकट लिएर चेकजाँच गराउन सकिन्छ । यस अघि दैनिक एक सय जना बिरामी सम्मले गोरखा अस्पतालमा ओपिडि सेवा लिने गर्थे ।




