
केन्द्र विवादका कारण गण्डकी गाउँपालिकाको गाउँसभा हुन सकेन
प्रशासनिक भवन कहाँ बनाउने भन्ने बारेको विवाद नमिल्दा गण्डकी गाउँपालिकाको छैठौँ गाउँसभा बुधबार पनि हुन सकेन ।
स्थानीय शासन सञ्चालन सम्बन्धी ऐनअनुसार असार १० गतेभित्र गाउँसभा गरिसक्नु पर्ने व्यवस्था भएपनि गण्डकी गाउँपालिकाको गाउँसभा असार मसान्तसम्म पनि नभएको हो ।
‘प्रशासनिक भवन कहाँ बनाउने भन्ने बारे विवादको टुङ्गो नलागेका कारण गाउँसभा हुन सकेन’, वडा नं. ७ का अध्यक्ष तुलसी रेग्मीले भने, ‘गाउँसभा नहुँदा के समस्या पर्छ भन्ने बारे प्रमुख प्रशासकीय अधिकृतलाई थाहा होला ।’
नेपाली काङ्ग्रेस सम्वद्ध गाउँसभाका सदस्यहरुले अहिले कार्यालय भइरहेको भुम्लिचोक वा दर्बुङको लाँकुरीडाँडा प्रस्ताब गरेका छन् भने नेकपा सम्वद्ध गाउँसभा सदस्यहरुले फिस्लिङ बजार आसपास वा वनटारदेखि दलभञ्ज्याङसम्म जहाँ भए पनि हुने अडान राखेका छन् । ‘दुवैथरी आ–आफ्नो अडानमा टसकामस नभएपछि एकजुट भएर गाउँसभा गर्न सकिएन’, रेग्मीले भने ।
गाउँसभाबाट नीति, कार्यक्रम तथा बजेट पास नभए खर्च गर्न नसकिने प्रमुख प्रशासकीय अधिकृतले जनाए ।




