| आइतवार, कार्तिक २२, २०८३

कोरोना संक्रमितको संख्या घट्न थाल्यो, गोरखा अस्पतालको आइसोलेशनमा जम्मा तीनजना मात्र

दराैँदी समाचारदाताः दुईसाताअघि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा २४ घण्टाको अवधिमा नेपालमा नौसय जनाभन्दा धेरै कोरोना संक्रमित भएको घोषणा गथ्र्यो । शनिबारसम्म आइपुग्दा २४ घण्टाभरि पिसिआर रिपोर्ट पोजेटिभ आउनेको ७० जना मात्र भेटिए ।

कुनै बेला गोरखा अस्पतालको आइसोलेशनको २४ वटै बेड भरिएपछि गोरखा क्याम्पसमा आइसोलेशन बनाउनु परेको थियो । अहिले त्यहाँ जम्मा तीन जना मात्र रहेको सूचना अधिकारी कृष्ण ढकाल बताउँछन् । दुईहप्तादेखि अस्पतालको आइसोलेशनमा संक्रमित नथपिएको उनले बताए ।

त्यस्तै गोरखा क्याम्पसको आइसोलेशनमा पनि संक्रमितको संख्या दिनहूँ घट्दै छ । ‘कुनै बेला गोरखा क्याम्पसको आसोलेशनमा ४७ जनासम्म थिए’, त्यहाँका सूचना अधिकारी निश्चल अर्याल भन्छन्, ‘तर अहिले घटेर ३३ जना भएको छ । अब भरेभोलिमा नै १५ जनाजति डिस्चार्ज हुने सम्भावना छ ।’

गोरखामा कोरोनाबाट संक्रमितको संख्या ९९ पुगेकोमा अहिले ५९ जना उपचारपछि घर फर्केका छन् । अहिले जम्मा ३८ जना मात्र उपचार गराइरहेका जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख छ ।

यसअघि दैनिक पाँच, छ जना संक्रमितहरु थपिने गरेको गोरखामा अहिले फाट्टफुट्ट एक, दुई जना थपिने गरेका गोरखा क्याम्पस आइसोलेशनका सूचना अधिकारी अर्याल बताउँछन् ।

गोरखामा पिसिआर पोजेटिभ आउनेको संख्या बास्तवमै घटेको गोरखा अस्पतालका सूचना अधिकारी ढकाल बताउँछन् । ‘विदेशबाट आउनेको संख्या पनि घट्यो । त्यही भएर पनि हुनसक्छ संक्रमितको संख्या घटेको छ’, ढकालले भने, ‘संक्रमितमध्य पनि मर्नेको संख्या ज्यादै नै नगण्य छ ।’ १६ हजार सातसय १९ जना संक्रमितमध्य अहिलेसम्म नेपालमा कोरोनबाट मर्नेको संख्या ३८ पुगेको छ । गोरखामा दुई जना मात्र कोरोनाबाट मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्