| आइतवार, कार्तिक २२, २०८३

साधना लघुवित्तको शेयर आवेदनको आज अन्तिम दिन, ३ दिनमा तीन लाख ६९ हजारको आवेदन

दरौँदी समाचारदाताः गोरखामा प्रधान कार्यालय रहेको साधना लघुवित्तले साधारण शेयर (आईपीओ) खुल्ला गरेको छ । सर्वसाधारण जो कोहीले पनि डिम्याट खाता मार्फत नजिकको बैंकबाट शेयर दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ । ‘आज (बुधवार) साधारण शेयर राख्न पाउने अन्तिम दिन हो, गोरखामा प्रधान कार्यालय रहेकाले म गोर्खालीहरुलाई आवेदनका लागि आह्वान गर्दछु’ लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले भने ।

शेयर लगानी गर्न चाहनेले न्यूनतम १० कित्ता (एक हजार रुपैयाँ) देखि एक हजार कित्ता (एकलाख) रुपैयाँ सम्म शेयर अवेदन दिन सक्नेछन् । मंगलवार सम्म अर्थात तीन दिनमा तीन लाख ६९ हजारले साधारण शेयरका प्राप्तीका लागि आवेदन दिएका छन् । बुधवार अन्तिम दिनसम्म पाँच लाखले आवेदन दिने अनुमान लघुवित्तको छ ।

साधन लघुवित्तको अधिकतम पुँजी तीस करोड रहेको छ भने चुक्ता पुँजी १४ करोड ७० लाख छ । अहिले निस्कासन गरिएको साधारण शेयर आईपिओपछि कुल पुँजी २१ करोड ७७ लाख ८० हजार हुने लघुवित्तले जनाएको छ । चैत मसान्त सम्म एक करोड ९० लाख ९२ हजार नाफा गरेको साधनाले असार मसान्त सम्म पाँच करोड ५४ लाख नाफा कमाउने लक्ष्य लिएको कार्यकारी अधिकृत न्यौपानेले बताए । असार २१ गतेदेखि साधनाले शेयर निस्कासन गरेको हो । सात करोड सात लाख ८० हजार बरावरको शेयर निस्कासन गरिएको छ । सर्वसाधारणका लागि छ लाख ६१ हजार पाँच सय २० कित्ता शेयर निष्काशन गरिएको हो ।

आईपिओ प्रक्रियापछि कम्पनीमा संस्थापकहरुको शेयर हिस्सा ६७ दशमलव ५० प्रतिशत हुनेछ भने साधारण शेयर हिस्सा ३२ दशमलव ५० प्रतिशत हुनेछ । कम्पनीले १० हजार आठ सय ९० कित्ता साधारण शेयर कर्मचारीका लागि सुरक्षित गरेको पनि जनाएको छ ।

राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कारोबार गर्दै आएको साधना लघुवित्तले २०७६ साल असार ३० गते तनहुँमा प्रधान कार्यालय रहेको आर्थिक सम्वृद्धी नामक लघुवित्तलाई प्राप्ती गरेको थियो । अहिले साधनाको शाखा २२ जिल्लामा ५० वटा रहेको छ । गोरखा नगरपालिका ६ मा प्रधान कार्यालय रहेको लघुवित्तको गोरखामा मात्रै नौ वटा शाखा छ । ‘गोरखाकै लघुवित्त भएकाले यहाँका इच्छुक मानिसले पनि शेयर प्राप्ती गरुन भन्ने चाहना हाम्रो हो’ प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने ।

साधना नेपाल राष्टू्रबैंकबाट ‘घ’ बर्गको इजाजत प्राप्त लघुवित्त हो । अहिले ४६ हजार जना ग्राहक रहेका छन् । ‘लघुवित्तका संस्थापकहरु बैंकिङ क्षेत्रमा अब्बल हुनुहुन्छ, गोरखाका सफल ब्यवशायी रहेको वित्तिय संस्था भएकाले ढुक्क भएर लगानी गर्दा हुन्छ’ सर्वसाधारणलाई अनुरोध गर्दै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने ।

प्रतिक्रिया दिनुहोस्