| आइतवार, कार्तिक २२, २०८३

बर्षेनी वृक्षरोपण गर्छन्, हुर्काउँदैनन

 

शिव उप्रेती :

लायन्स क्लव अफ गोरखाले आठबर्षअघि गोरखा नगरपालिका ५ पश्चिमकालीको ठूलो क्षेत्रफलमा वृक्षरोपण गर्यो ।

प्रतिविरुवा पन्द्रसय रुपैयाँ लिएर विरुवामा नगद दिनेको नाम अंकित गर्ने योजना अनुसार केही व्यक्तिहरुसंग शुल्क पनि असुल गर्‍यो ।

तर अहिले त्यहाँ ५० प्रतिशत विरुवा पनि हुर्केका छैनन् ।

लायन्स क्लव अफ गोरखा कालिकाले दुईबर्ष अघि चिल्ड्रेन पार्कमा वृक्षरोपण गर्‍यो । गतबर्ष पनि सोही ठाउँमा पुन वृक्षरोपण गर्‍यो । तर अहिले पहिलेको बिरुवा नरहेको क्लवकी अध्यक्ष रीता रेग्मी बताउँछिन् ।

खाल्डो खन्न, मल राख्न गरेर त्यतिबेला क्लवले ३० हजार रुपैयाँ खर्च पनि गरेको थियो । तर विरुवा पनि नगद पनि खेर गएको उनको भनाइ छ ।

दुवै लायन्स क्लवले गुलमोहर, कपुर, धुपी, काइयोलगायतका विरुवा रोपेको थियो ।

‘बर्षेनी वृक्षारोपण गर्ने कार्यक्रम अन्तर्गत हामीले आठबर्षअघि पश्चिमकालीको मैदान वरिपरि करिब दुईतीनसय रोपनी भिरालो जमिनमा वृक्षरोपण गरियो’, लायन्स क्लव अफ गोरखाका तत्कालीन अध्यक्ष सितलकाजी मास्केले भने, ‘वृक्षरोपण गरेर मात्र हुदैन । संरक्षण र व्यवस्थापन पनि हुनुपर्छ भन्ने सोचाइले हामीले हेरालु राख्न र स्याहार सम्भार गर्न त्यही क्षेत्रका महिला समूहलाई जिम्मा दिने, त्यसबापत केही रकमको समेत व्यवस्था गर्ने निणर्य भएको थियो । तर कार्यक्रमले निरन्तरता पाउन सकेन ।’

जसले निर्धारित शुल्क तिर्छ, उसको नाममा एउटा विरुवा रोप्ने र त्यो रकमले सो वनको दीर्घकालीन व्यवस्थापन गर्ने निणर्य कार्यान्वयन हुन नसकेको उनले बताए ।

‘हामीले पूर्व अनुमान गरेजतिको रकम संकलन पनि भएन । लायन्स क्लवकोे कोषबाट मात्र खर्च गरेर कार्यक्रम धेरै टिकाउ हुन पनि सकेन’, पूर्व अध्यक्ष मास्केले भने, ‘त्यसैले त्यो अभियान अलपत्र परेको छ ।’ सो कार्यक्रमलाई पुनर्जीवन दिन पुनः पहल गर्ने उनले बताए ।

लायन्स क्लव अफ गोरखाका वर्तमान अध्यक्ष श्यामबाबु श्रेष्ठले वृक्षरोपण गर्ने र पहिले रोपिएका विरुवाको संरक्षण गर्ने बारे केही दिनमा बैठक गरेर निणर्य गर्ने जानकारी दिए ।

लायन्स क्लवले रोपेका विरुवा मात्र होइन, संस्थागत वा व्यक्तिगत रुपमा रोपिएका अरु विरुवा पनि हुर्केका छैनन् । बर्खा लागेपछि वृक्षरोपण गर्न सबैले कार्यक्रम बनाउने तर रेखदेख गर्ने, हुर्काउने कार्यक्रम कसैले पनि नबनाउने डिभिजनल वन अधिकृत तोयानाथ पौडेल टिप्पणी गर्छन् ।

‘वन कार्यालयले यसबर्ष पनि वृक्षारोपणका लागि ६६ हजार थान विरुवा जिल्लाभित्र ल्याएको छ’, पौडेल भन्छन्, वृक्षरोपणका लागि कार्यक्रम र बजेट हुन्छ तर तारबार गर्न, संरक्षण गर्न कार्यक्रम र बजेट हुदैन त्यसैले विरुवा रोपिन्छ तर हुर्कदैनन् ।’

वृक्षरोपणको कार्यक्रम बनाएसंगै तारबार गर्ने, हेरालु राख्ने, मलजल गर्ने कार्यक्रम र बजेटको पनि पूर्वनिर्धारण गरेमा रोपेका बिरुवा हुर्कने उनले बताए । ‘त्यसका लागि जुन व्यक्ति वा संस्थाले वृक्षरोपण गरेको हो, हुर्काउने स्वामित्व पनि उही निकायले लिनुपर्छ’, डिभिजनल वन अधिकृत पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्