
लोकप्रियता बढेसँगै गोरखामा मोरिङ्गाको पकेट क्षेत्र बिस्तार
कोरोनालगायत बिभिन्न रोगबाट बच्न प्रतिरोधी क्षमता बढाउने ‘मोरिङ्गा’को लोकप्रियता बढ्न थालेपछि गोरखामा यसको व्यवसायिक खेती सुरु भएको छ ।
एकै ठाउँमा दुईसय रोपनी भन्दा धेरै क्षेत्रफलमा मोरिङ्गा खेती सुरु भएपछि कृषि ज्ञानकेन्द्रले मोरिङ्गा पकेट क्षेत्रको रुपमा विकास गरेको छ ।
मोरिङ्गालाई सितल चिनीको रुपमा चिनिन्छ । यसको पात, फल, फूल, जरा सबै उपयोगी हुने कृषि ज्ञानकेन्द्रकी प्रमुख मनिता थापा बताउँछिन् । ‘मोरिङ्गा बहुउपयोगी तरकारीजन्य वनस्पति हो’, उनी भन्छिन्, ‘यसको फल, फूल, जरा, पात सबै उपयोगी हुन्छ । त्यसैले अहिले यसको लोकप्रियता बढिरहेको छ । हामीले गोरखा नगरपालिका १४ गोर्बुङमा मोरिङ्गा पकेट क्षेत्र घोषणा गरी प्रवद्र्धनात्मक कार्यक्रम लागु गरेका छौँ ।’
सो ठाउँमा दुईसय रोपनी भन्दा धेरै क्षेत्रफलमा मोरिङ्गा खेती सुरु गरिएको उनले बताइन् ।
गर्बुङमा गोरखा अर्गानिक हर्वल फार्मले मोरिङ्गाको व्यवसायिक खेती सुरु गरेको हो । गतबर्षबाट एकसय रोपनी क्षेत्रमा सुरु गरिएको मोरिङ्गा खेती यो बर्ष दुईसय रोपनी थप गरी तीनसय रोपनीमा सुरु गरिएको फर्मका सञ्चालक डाक्टर खेमराज भट्टराईले जानकारी दिए ।
‘बहुउपयोगी वनस्पति विश्व बजारमा अत्यन्त लोकप्रिय रहेकाले हामीले नेपालमा व्यवसायिक रुपमा मोरिङ्गा खेती सुरु गरेका हौं’, डाक्टर भट्टराईले भने, ‘यसको महत्व नेपालमा पनि बढ्दै गएकाले भविष्यमा नेपालमा नै यसको खपत हुने विश्वास लिएका छौं ।’
मोरिङ्गाको पातको चिया बनाएर खाए मात्रै पनि रुघाखोकी लगायतका रोग कहिल्यै नलाग्ने डाक्टर भट्टराई बताउँछन् । अहिले गोरखा आयुर्वेद कम्पनीले मोरिङ्गाको चिया बनाएर बजारमा ल्याएको पनि उनले बताए ।
कोरोना लगायतका बिभिन्न रोगबाट बच्न प्रतिरोधात्मक क्षमता बढाउने यसको विशेषता रहेको उनले बताए ।
‘दूधमा भन्दा यो वनस्पतिमा १४ गुणा धेरै पौष्टिक तत्व पाइन्छ’, उनले भने, ‘पातको चिया अति उत्तम हुन्छ । फूल पनि खान हुन्छ । फलको तरकारी हुन्छ । जरा पनि सखरखण्ड झैँ खान सकिन्छ ।
त्यसैले यसलाई मिराकल वनस्पति पनि भनिन्छ ।’ भारतबाट विउ ल्याएर व्यवसायिक खेती सुरु गरिएको उनले बताए । २० लाख रुपैयाँ भन्दा धेरैको लागतमा गरिएको मोरिङ्गा खेतीलाई पकेट क्षेत्रको रुपमा विकास गर्न कृषि ज्ञानकेन्द्रले टूयाक्टर, पाइप, मोटरलगायतका उपकरण सहयोग उपलब्ध गराएको उनले बताए ।




