| आइतवार, कार्तिक २२, २०८३

गोरखामा पिसिआर मेसिन किन्ने सम्भावना तत्कालका लागि टर्‍यो

दरौँदी समातारदाताः गोरखाका स्थानीय तहहरुले संयुक्त रुपमा पिसिआर परीक्षण मेसिन खरिद गर्ने अभियान तत्कालका लागि टरेको छ ।

पिसिआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउँदा रिपोर्ट आउन धेरै समय लागेपछि स्थानीय तहहरुको संयुक्त बैठकले संयुक्त रुपमा पिसिआर परीक्षण मेसिन खरिद गरी ल्याउने निणर्य गरेका थिए ।

‘हामीले पिसिआर परीक्षण गर्ने मेसिन खरिद गर्न तीन सदस्यीय कार्यदल पनि गठन गरेर अध्ययन गर्न सुरु गरेका थियौँ, तर तत्काल ल्याउन सक्ने अवस्था देखिएन’ आइसोलेशन व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले भने ।

खरिद गर्न भन्दा त्यसलाई इन्स्टल गर्न, सञ्चालन गर्न र ब्यवस्थापनमा धेरै चुनौती देखिएको उनले बताए । पिसिआर मेसिन संचालन गर्ने दक्ष जनशक्ति अभाव, नियमित सञ्चालन र ब्यवस्थापनमा ठुलो चुनौती रहेको उनले बताए । ‘मेसिन चलाउन सक्ने कर्मचारी देशभरि नै अभाव रहेछ । मेसिन तत्काल ल्याएर सञ्चालन गर्ने अवस्था हाम्रो जिल्लामा रहेन’ उनले भने । गत जेठ ३० गते स्थानीय तहका प्रमुख सहित सदरमुकाममा बसेको सरोकारवालाको बैठकले मेसिन खरिद गर्ने विषयमा छलफल गरेको थियो ।

उक्त बैठकले गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको संयोजकत्वमा स्वास्थ्य कार्यालय प्रमुख विद्या तामाङ र गोरखा अस्पतालका डाक्टर कमल रोका सदस्य रहेको पिसिआर मेसिन खरिद संभावना अध्ययन कार्यदल गठन गरेको थियो । समितिले प्रदेश प्रयोगशालामा पुगेर स्थलगत अध्ययन समेत गरेर फर्किएको थियो ।

‘मेसिन खरिद गर्न भन्दा ब्यवस्थापन गर्न चुनौती रहेछ’ पिसिआर मेसिन खरिद संभावना अध्ययन कार्यदलका संयोजक एवं गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने । ‘मेसिन राख्ने ठाउँ बनाउन करिब दुई महिना लाग्ने रहेछ, सबै ब्यवस्थापन गर्न धेरै समय लाग्ने भएपछि तत्काल संभावना कम भएको हो’ उनले भने । साधारण खालको ‘प्रोटेवल’ मेसिन ल्याउँदा रिपोर्टको विश्वसनियतामा समस्या देखिन सक्ने र क्षमता पनि कम हुने भएकाले समितिले दीगो हुने खालको मेसिन राख्ने गरी अध्ययन गरेको थियो ।

‘अन्यत्र प्रयोगशालामा रहेका मेसिनको अवस्था हेर्दा, प्राविधिक र चिकित्सकहरुको सल्लाह सुझाब अनुसार तत्काल ल्याउन सकिने अवस्था रहेन’ उनले भने ।
मेसिन खरिद गर्ने बारे गोरखाका सबै स्थानीय तह एकमत भएका थिए । सामुहिक बजेट बिनियोजन गरेर मेसिन खरिद गरी सदरमुकाममा राख्ने योजना थियो । उक्त मेसिन खरिद भएपछि स्वाब परीक्षण छिटो गर्न सकिने र रिपोर्ट छिटो आउने अपेक्षा स्थानीय तहहहरुको थियो । भारतबाट आएकाहरु, कन्टूयाक टे्रसिङमा रहेकालाई पिसिआर चेकजाँच गरेर प्रदेश प्रयोगशाला पठाउँदा रिपोर्ट ढिला आउने समस्या अहिले पनि छ ।

पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले भने कोरोना परीक्षणमा ढिलाइ गर्न नहुने भन्दै नागरिक तहबाट पिसिआर मेसिन खरिद सम्बन्धी पहल गर्ने बताएका छन् । ‘परीक्षण, सामाजिक दुरी, कन्ट्याक्ट टे्रसिङ र मास्कको प्रयोग एकैपटक गरेमात्रै कोरोना संक्रमणबाट जोगिन सकिन्छ’, उनले भने, ‘छुट्टा – छुट्टै अवलम्बन गर्दा संक्रमणबाट बच्न सकिदैन । तर हाम्रोतिर त जिल्ला पूरै लाग्दापनि पिसिआर मेशिन ल्याएर परिक्षण गर्न नसक्ने खबरले जिल्लालाई नै दुखी तुल्याएको छ । अब कोरोनाबाट कसरी जोगिने हो खै ? परिक्षण नगरी कोरोनालाई जितिन्न, त्यसका लागि पिसिआर मेसिन अनिबार्य चाहिन्छ ।’ नागगरिक तहबाट पिसिआर मेसिन खरिद अभियान सुरु गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्