
लक्ष्मीबजार सहरी स्वास्थ्य क्लिनिकको कर्मचारीमा कोरोना नेगेटिभ, स्वास्थ्य इकाइ र वडा कार्यालय आजबाटै खुल्ने
गोरखा नगरपालिका ९ लक्ष्मीबजारको सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत कर्मचारीमा कोरोना नरहेको पुष्टि भएको छ ।
बुधबार प्राप्त पिसिआर परीक्षणको रिपोर्टमा उनमा कोरोना नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।
कर्मचारीमा कोरोना नेगेटिभ आएपछि बुधबार बन्द आव्हान गरिएको वडा कार्यालय र सहरी स्वास्थ्य इकाइ बिहिबारदेखि नै खुल्ने नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए । साथै बजार क्षेत्रको आवातजावत तथा अन्य गतिबिधिमा गरिएको कडाइ पनि हट्ने उनले बताए ।
बारपाक सुलीकोट गाउँपालिकाका एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछिको कन्ट्याक ट्रेसिङको आधारमा लक्ष्मीबजारस्थित सहरी स्वास्थ्य क्लिनिकका कर्मचारीमा पनि कोरोना संक्रमण हुनसक्ने भन्दै यसअघि उनको स्वाब परिक्षणका लागि पठाइएको थियो ।




