
घैरुङको एक विद्यालयलाई पोखरा महानगरपालिकाको सहयोग
शहीद लखन गाउँपालिका ६ दार्चेस्थित पिपला पोखरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोखरा महानगरपालिकाले पोशाक र शैक्षिक सामग्री प्रदान गरेको छ ।
ग्रामीण भेगमा रहेको सो विद्यालयमा आफै पुगेर महानगरपालिकाका मेयर मानबहादुर जिसीले त्यहाँ अध्ययरत सबै विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक हस्तान्तरण गरेका हुन् । झोला, जुत्ता, सर्ट, पाईण्ट, टाई, बेल्ट सहित अन्य सामग्रीहरु हस्तान्तरण गरिएको सो टोलीमा आएका पत्रकार प्रकाश ढकालले जानकारी दिए । विद्यालयमा अध्ययनरत ७५ विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक हस्तान्तरण गरिएको उनले जनाए ।
सामग्री हस्तान्तरण गर्दै मेयर जिसीले विकटका विद्यार्थीहरुलाई उच्च मनोबलका साथ विद्यालय जाने वातावरण बनाउन सहयोग सामग्री प्रदान गरेको बताए ।
‘गोरखा यसैपनि ग्रामीण भूभागले भरिएको जिल्ला हो । विकासका पूर्वाधारहरु कम छन्’, उनले भने, ‘यस्तो परिवेशमा विद्यार्थीहरुमा शिक्षाप्रति आकर्षण बढोस भन्ने उद्देश्यले यो सहयोग गरिएको हो । सरकारी विद्यालयका विद्यार्थी पनि बोर्डिङ भन्दा कमजोर छैनन् भन्ने उदाहरण यहाँका विद्यार्थीले दिन सकुन् ।’ जिसीले पिपला पोखरी विद्यालयमा बढेर उच्च शिक्षाका लागि पोखरा आउने विद्यार्थीलाई विभिन्न खालका सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
सामग्री लिएपछि विद्यालयबा प्रधानध्यापक डिल्लीराम रेग्मीले महानगरको सहयोगप्रति धन्यवाद दिए ।
शहीद लखन गाउँपालिकासँग मैत्री सम्बन्ध
सोही अवसरमा मेयर जिसीले शहीद लखन गाउँपालिका कार्यालयमा पुगी प्रमुख, उपप्रमुख लगायत गाउँपालिकाको टिमसंग मैत्रीपूर्ण भेटघाट गरेका छन् । सो क्रममा मेयरले दुई स्थानीय तहबीच सहयोग आदानप्रदानका लागि चरणबद्ध छलफल गर्ने र उपयुक्त कार्यक्रम गर्न तयार रहेको बताए ।
गाउँपालिका अध्यक्ष रमेश थापाले पर्यटन र कृषिमा सहयोग गर्न आग्रह गरेका छन् ।
‘हाम्रो गाउँपालिकामा मनकामना मन्दिरदेखि प्रथम शहीद लखन थापाको स्मारक समेत छन् । भीमसेन थापाले बनाएका पुरातात्विक सम्पदाहरु पनि छन्,’ उनले भने, ‘तर यसको पर्याप्त प्रचार हुन सकेको छैन । पोखरा आईपुगेका पर्यटकलाई हाम्रो गाउँपालिकासम्म पठाउने वातावरण भैदिए यहाँको पर्यटनले फड्को मार्नेछ ।’ उनले गाउँपालिकामा उत्पादित कृषिजन्य उत्पादन विक्रीका लागि पोखरामा बजार ब्यवस्थापन गरिदिन पनि अनुरोध गरे ।
मेयर जिसीले पनि कृषिजन्य उत्पादनको गुणस्तर मापन गरेर पोखरा भित्र्याउन सकिने बताए । ‘पहिले छलफल गरौं । के के मा सहयोग गर्न सक्छौं त्यो पहिचान गरौं,’ उनले भने, ‘यहाँको उत्पादन पोखरामा बेच्न कुनै आपत्ति छैन । पर्यटकीय क्षेत्रको प्रचारका लागि पनि विशेष कार्यक्रम बनाऔंला ।’




