
धार्चे गाउँपालिकाले २० युनिटसम्म विद्युत महशुल निशुल्क गरिदिने
अति विपन्न तथा समयमै कर तिर्ने व्यवसायीलाई धार्चे गाउँपालिकाले विद्युत महशुलमा राहत दिने भएको छ ।
गाउँपालिकाको बुधबार सम्पन्न सातौँ गाउँसभाले ‘जोखिम तथा संवेदनशील समुदाय र समयमै कर तिर्ने व्यवसायीलाई २० युनिटसम्मको विद्युत महशुल गाउँपालिकाले तिरिदिने’ नीति तथा कार्यक्रम पास गरेको हो ।
साथै संवेदनशील परिबारलाई खाना पकाउने हिटर खरिदमा ५० प्रतिशत अनुदान दिने नीति तथा कार्यक्रम पास गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
गाउँसभाले धार्चे गाउँपालिकाको भूमि व्यवस्थापन गर्न बनेको ऐन २०७७, धार्चे गाउँपालिकाको स्वास्थ्य ऐन २०७७ र धार्चे गाउँपालिकाको विपद व्यवस्थापन ऐन २०७७ पनि पारित गरेको छ ।
गाउँसभाले प्रस्तुत गरेको ३६ करोड रुपैयाँको बजेट र नीति तथा कार्यक्रम पारित गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।




