
गोरखा नगरपालिकाको छैटौँ नगरसभा : कृषि मल ढुवानीमा नगरपालिकाले अनुदान दिने
बुधबार सम्पन्न छैठौँ नगरसभाले गोरखा नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास गरेको छ ।
आर्थिक बर्ष २०७७/०७८ का लागि नगरप्रमुख राजनराज पन्तद्वारा नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रम पास भएको हो ।
नगरपालिकाले आउँदो आर्थिक बर्षका लागि ‘गोरखा नगर सम्वृद्धिको आधार, पर्यटन, कृषि र पूर्वाधार’ भन्ने सोच तयार गरेको सो अवरमा नगरप्रमुख पन्तले जानकारी दिए । साथै ‘धार्मिक एवं ऐतिहासिक पर्यटन, व्यवसायिक कृषि, गुणस्तरीय शिक्षा, स्थानीय स्रोतसाधनको उपयोगमा जोड दिदै दिगो विकासको अवधारणा अनुरुप समतामुलक समाज तथा समृद्ध नगर निर्माण गर्ने’ लक्ष्य लिएको मेयर पन्तले सभामा घोषणा गरे ।
गोरखा नगरपालिकाभित्र बिक्री बितरण गर्ने कृषि मलमा ढुवानी अनुदान दिने आउँदो बर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै कृषि उत्पादनलाई बढवा दिन बाँझो जग्गामा खेती गर्न चाहने किसानलाई अनुदानको व्यवस्था गर्ने नीति पनि नगरपालिकाले अवलम्बन गरेको छ ।
गोरखा नगरपालिकाभित्रका व्यवसायीलाई लिइदै आएको व्यवसायिक करमा आउँदो आर्थिक बर्ष २५ प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै घरभाडा करलाई सरल तुल्याउन घरधनीहरुलाई सुरुको चरणमा ४ प्रतिशत घरभाडा कर मिनाहा दिने नीति रहेको पनि उनले बताए । त्यस्तै ‘सबैको समतामुलक सहभागिता, नगर विकासमा प्रभावकारिता’ भन्ने नाराका साथ नगरपालिकाभित्र हुने सवै काम सहभागितामुलक ढंगले सञ्चालन गर्ने पनि उल्लेख गरिएको छ ।
विपदसंग जुध्ने खालका स्थानीय पाठ्यक्रम बनाउने, भर्चुअल कक्षा मार्फत शैक्षिक क्रियाकलाप गर्न पहल गर्ने, कक्षा पाँचसम्मका बालबालिकालाई खाजाको व्यवस्था गर्ने, दलित, अपांग, छात्राछात्रवृत्ति वितरणका साथै उत्कृष्ठ विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्तिको व्यवस्था गर्ने उनको नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘नगरप्रमुख विपन्न, ज्येष्ठ अपांग, असहाय एकल महिला विमा कार्यक्रम’लाई निरन्तरता दिने, ‘नगरपालिकाको नीति तथा कार्यक्रममा हामी पनि संगसंगै’ भन्ने मान्यताका साथ गैरसरकारी संस्थालाई साथ दिने, बालक्लव र बाल सञ्जालमार्फत बालबालिकाको चेतना अभिवृद्धि गर्दै बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रमलाई अघि बढाउने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रमलाई निरन्तरता दिने, अपांगता भएका व्यक्तिलाई व्यवसायिक करमा ५० प्रतिशत छुट दिने, रासयनिक मलमा ढुवानी अनुदानको व्यवस्था गर्ने उल्लेख छ ।
साथै रानीवन क्षेत्र, चिल्ड्रेनपार्क, बिरिमकाली र भीमसेन थापा पार्कमा पर्यटन विकासका लागि भ्यू टावर निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । सबै वडा कार्यालयमा सिसिटिभीको व्यवस्था गर्ने, नगरपालिकाभित्रको सार्वजनिक पार्क, उद्यानहरुमा फ्रि वाईफाई जडान गर्ने, वडा कार्यालयलाई पेनलेस गरी छिटो छरितो सेवा प्रवाह गर्न सबलीकरण गर्ने लगायतका नीति तथा कार्यक्रम छैठौं सभाबाट पारित भएका छन् ।
सबै नीति तथा कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आउँदो आर्थिक बर्षका लागि ९६ करोड रुपैयाँ बजेट प्रक्षेपण गरेको छ ।




