| आइतवार, कार्तिक २२, २०८३

धर्म कमाउन जोखिम मल्दै

 

प्रसिद्ध धार्मिकस्थल मनकामना र भालेश्वर मन्दिर पुग्न सजिलो गराउन केवलकार बन्यो । मौलाकाली पुग्न गैँडाकोटदेखि लामो सिँडी बनाइयो । पाथीभरा, भीमेश्वर, अन्य कैयन तीर्थस्थलका भक्तजनलाई सरकारी तथा निजी स्तरबाट सहज माध्यम बन्दैछ ।

गोरखामा एउटा यस्तो तीर्थस्थल छ, जहाँ पुग्न भक्तजन पहरा समातेर आउनेजाने गर्छन् । परापूर्व कालदेखि नै करिब १५ मिटरको दुरी भक्तजनहरु पहरा समातेर र पहरामै टेकेर गर्ने स्थानीयबासी बताउँछन् ।

चुमनुब्री गाउँपालिका ३ स्थित नेडुप्च्यू पुग्नका लागि भक्तजनहरु ज्यूज्यानको पर्बाह नगरी भीरको यात्रा गर्ने गरेको स्थानीय सूर्य गुरुङ बताउँछन् । ‘साविकको सिर्दिबास, उहिया, बिही, प्रोक, ल्हो, चुम्चेत गाविस सम्मका मान्छेहरु नेडुप्च्यू जानका लागि यसैगरी पहराको बाटो हिड्छन्’, उनी भन्छन्, ‘त्यहाँ पुगेपछि चेल्डाङ गुम्बा, १०८ धारा, पोखरी, गुफा, ठूलो मैदान र तल्लो भेगमा रहेको धेरै ठूलो ग्ल्यासियर पनि छ । नपुगुञ्जेल गाह्रो हो, पुगेपछि स्वर्ग आएजस्तो लाग्छ ।’

किमोलुङका तीन ठूला गुम्बामध्यको एउटा गुम्बा सोही ठाउँमा रहेको उनले बताए । ‘किमोलुङमा सेराङ, लेटाङ जस्तै ठूलो गुम्बा चेल्डाङ यहीँ पर्छ’, उनले भने, ‘उहिल्यै ठूला लामा गुरु फा पेमाढुण्डुपले ढेमाला भन्ने कन्यालाई बोलाएर पहिलोचोटी यहाँका सबै तीर्थस्थलहरुको दर्शन गराएपछि यसको प्रचार भएको भन्ने जिजुबाजेको पालादेखि सुन्दै आएको हो ।’
नेडुप्च्यूको दर्शन गरेपछि निसन्तानलाई सन्तानलाभ हुने जनविश्वास रहेको अर्का स्थानीय बीरबल घले बताउँछन् । ‘त्यहाँ पुगेपछि सन्तान नहुनेको सन्तान हुने, नबोल्ने बच्चा भएकाको बच्चा बोल्ने हुन्छ भन्ने जनविश्वास छ’, उनले भने, ‘किमोलुङको दर्शन गर्नेहरु पनि त्यहाँ अनिबार्य जाने गर्छन् ।’
न्याकबाट र रुपिनाला पास गरेर पनि यहाँ पुग्न सकिन्छ । यहाँबाट चुमभ्याली र मनास्लु पदयात्रा गर्न सकिने भएकाले यस क्षेत्रको पर्यटन विकासको प्रचुर सम्भावना रहेको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ बताउँछन् ।
धर्म गर्नका लागि केही दुखकष्ट गर्नुपर्छ भन्ने धार्मिक आस्थाका कारण पनि यहाँको पदमार्ग स्तरउन्नति नगरिएको उनी बताउँछन् । ‘धर्म गर्नका लागि दुख गर्नुपर्छ भन्ने जनविश्वास छ । त्यसैले पनि त्यति बाटोलाई जस्ताको तस्तै छाडिएको हो’, अध्यक्ष गुरुङ भन्छन्, ‘यहाँभन्दा केही तलसम्म सिडी बनाइएको छ । पार्टी बनाइएको छ । तर यो बाटोलाई यस्तै छाडौं भनेर सबैको सुझाव आएकाले मर्मतसम्भार नगरिएको हो ।’

तस्वीर सौजन्य : पेमा ल्हमु गुरुङ ।

प्रतिक्रिया दिनुहोस्