| आइतवार, कार्तिक २२, २०८३

आईसोलेसन निर्माणमा ढिलाई, प्राथमिक स्वास्थ्य केन्द्रमा बन्ने/नबन्ने अझै अन्यौल

कोरोना संक्रमितको राम्रोसँग उपचार गर्न गोरखा सदरमुकाममा एकसय र सदरमुकाम बाहिर ६५ बेडको क्वारेन्टिन सहितको ब्यवस्थित आईसोलेसन निर्माण गर्ने निर्णय भएको साता बितिसक्दा कुनै तयारी थालिएको छैन ।

मंगलवार कोरोना संक्रमित १० जना थपिएपछि संख्या २४ पुगेको छ । उनीहरु सबैको गोरखा अस्पतालको आईसोलेसनमा उपचार भइरहेको छ । अब थप संक्रमित भेटिएन भने राख्नकालागि गोरखामा आइसोलेसन छैन । १४ जनामा कोरोना संक्रमण देखिएप्छि आईसोलेसन निर्माण छिटो र ब्यवस्थित गर्ने भन्दै जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको संयोजकत्वमा आईसोलेसन एवं कोष ब्यवस्थापन समिति बनेको थियो । समितिको काम भने कछुवा गतिमा छ ।

उक्त समितिले जिल्लाका स्थानीय तहका प्रमुखहरुलाई सदरमुकाममा भेला गराएर गोरखा क्याम्पसमा एकसय बेड, आरुघाट गाउँपालिकाको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र, गण्डकी गाउँपालिकाको मकैसिंङ, सिरानचोक गाउँपालिकाको जौवारी र आँपपिपल अस्पतालमा १०÷१० बेडको आईसोलेसन बनाउने निर्णय गरेको थियो । तर ती ठाउँमा निर्माणको काम सुरु भएको छैन ।

पालुङटार नगरपालिकाको आँपपिपल अस्पतालमा १० बेडको आईशोलेसन तत्काल बनाउने निर्णय समितिले गरेको थियो ।

‘१५ बेडको अस्पतालमा १० बेडको आईसोलेसन बनाउने ठाउँ छैन’ पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले भने ‘त्यहाँ नहुने भएपछि अन्यत्र कतै विद्यालयमा बनाउने योजना छ, तर ठाउँ टुङ्गो लागेको छैन ।’ सिरानचोक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा आईशोलेसन बनाउन भबनलगायत भौतिक पूर्वाधार अभाव रहेको बताए । ‘नियमित चेकजाँचलाई जानेहरुमा त्रास हुन सक्छ । नजिकै परोपकार आदर्श माविको भबनमा बनाउने योजना छ ।’ आरुघाटमा पनि आईसोलेसन निर्माण सुरु भएको छैन ।

गण्डकी गाउँपालिकाको मकैसिंङ स्वास्थ्य चौकीमा पनि आइसोलेसन निर्माण पुरु भएको छैन । ‘हामी कसरी बनाउने भनेर तयारी गर्दैछौँ’ गाउँपालिका अध्यक्ष होमबहादुर रानाले भने ‘बेड आईसकेको छ, तीन दिन भित्र सक्छौँ ।’ नियमित सेवा दिइरहेको स्वास्थ्य संस्थामा आईसोलेसन निर्माण गर्दा र कोरोजना पोजेटिभ देखिएकालाई राख्दा नियमित सेवा प्रभावित हुनसक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
गोरखा सदरमुकाममा बन्ने भनिएको आइसोलेसन गोरखा क्याम्पसमा बनाउने निर्णय भएपनि काम सुरु भएको छैन । जिल्ला आयोजना कार्यन्वयन ईकाई (भबन)का प्राविधिकले आईसोलेसन निर्माणमा लाग्ने लागत सहितको बिवरण तयार गरिरहेकाले समय लागेको जिल्ला समन्वय प्रमुख अशोककुमार गुरुङले बताए ।

एक सातादेखि गोरखा क्याम्पसमा ७ जना नेपाली सेना र एक जना प्रहरी सुरक्षाकालागि राखिएको छ । आईसोलेसन बनाउने ठाउँ भनेर फ्लेक्समा लेखेर टाँग्ने बाहेकका कुनै काम भएको छैन । ‘हामी एक सातादेखि बसिरहेका छौँ, कोही आउनुभएको छैन । सुरक्षा दिने बाहेकको केही काम भएको छैन’ निर्माणधिन आईसोलेसन स्थलमा खटिएका एक सुरक्षाकर्मीले भने । भारतबाट आएर बिभिन्न गाउँपालिकाको क्वारेन्टिनमा बसेकाहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको खण्डमा धेरै जनालाई राखेर उपचार गर्ने ठाउँ गोरखामा छैन ।

‘गाउँपालिकाहरुले कोषमा रकम जम्मा गर्दै हुनुहुन्छ, केही समय लाग्छ, हामीले सक्दो छिटो गर्ने प्रयत्न गरिरहेका छौँ’ समन्वय प्रमुख गुरुङले भने । सदरमुकाम बाहिरका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा भने आईसोलेसन निर्माण गर्न समस्या भएको उनले बताए । गाउँपालिकाहरुले जिल्ला समन्वय प्रमखु गुरुङ संयोजक रहेको समितिलाई पाँच÷पाँच लाख दिने र उक्त कोषबाट आईसोलेसन निर्माण गर्ने निर्णय भएको थियो । पालिकाहरुले रकम निकासा गरेका छैनन भने समितिले छिटो काम गर्न सकेको छैन । गण्डकी गाउँपालिकाको १० जनामा कोरोना पोजेटिभ देखिएपछि हतारमा आइसोलेसन निर्माणगर्ने स्थानीय तहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्