| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेशको बजेटमा समेटिएका गोरखाका सात शीर्षक

गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७७।०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन् ।

सो बजेट तथा कार्यक्रममा गोरखाका बिभिन्न सात समेटिएका छन् ।

नेपाल सरकारसँगको सहकार्यमा गोरखाको आँपपिपल अस्पताल तथा बागलुङको बुर्तिबाङ, लमजुङको सुन्दरबजार, तनहुँको बन्दीपुर, स्याङ्जाको गल्याङ भिरकोट(हेलु) सुदृढीकरण गर्न तथा पोखराको शिशुवामा बालअस्पताल स्थापना गर्न र नवलपुर जिल्लाको विभिन्न स्वास्थ्य संस्थामा सर्पदंश उपचार गर्न रू. तीन करोड ५६ लाख विनियोजन गरेको घोषणा गरेका छन् ।

त्यस्तै प्रदेशलाई स्याउ उत्पादनमा आत्मनिर्भर बनाउन गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका तथा मनाङ, मुस्ताङ जिल्लामा उच्च घनत्वमा आधारित स्याउखेती विकास कार्यक्रमलाई निरन्तरता दिइने घोषणा गरिएको छ ।.

त्यस्तै गोरखाको गोरखा दरबार र मुस्ताङको लोमान्थाङलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तथा नेपाल ट्रष्टअन्तर्गत रहेका हिमागृह र रत्नमन्दिरको व्यवस्थापन गर्न प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ ।

नेपाल सरकारसँगको सहकार्यमा गोरखाको आरुघाट, सिर्दिबास रूइलाभन्ज्याङ सडक, बृहत पोखरा चक्रपथ, भिमाद, डेढगाउँ, अरुणखोला सडक, शालिग्राम करिडोर रसडकको निर्माण कार्यलाई बजेटले निरन्तरता दिएको छ । यस कार्यक्रमका लागि रू. १६ करोड २० लाख विनियोजन गरेको अर्थमन्त्री घोषणा गरे ।

त्यस्तै गोरखा, लमजुङ्ग र स्याङजा जिल्लाका पूर्वाधार विकासका कार्यालयबाट यातायात व्यवस्था सम्बन्धी सेवा समेत प्रदान गर्ने व्यवस्था नयाँ आर्थिकबर्षदेखि सुरु गर्ने सरकारले घोषणा गरेको छ ।

नेपाल सरकारसँगको सहकार्यमा गोरखा, तनहुँ, नवलपुर, लमजुङ, मनाङ, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाका राष्ट्रिय विद्युत प्रसारण लाइन नजोडिएका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको पहुँच विस्तारका लागि रू.१८ करोड विनियोजन गरेको अर्थमन्त्रीले घोषणा गरे ।.

राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका गोरखा जिल्ला लगायत मुस्ताङ, मनाङ, म्याग्दीका ७ स्थानीय तहका एक हजार एक सय ६० घरधुरीलाई सौर्य ऊर्जामा अनुदान दिन रू.दुई करोड ३० लाख विनियोजन गरेको अर्थमन्त्री गुरुङले घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्