| आइतवार, कार्तिक २२, २०८३

१५ प्रहरीसहित २५ जनाको कोरोना नेगेटिभ

 

दरौँदी समाचारदाताः  जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत १५ जना प्रहरीसहित २५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत जेठ २६ गते संकलन गरी परीक्षणका लागि पोखरा पठाएको २८ जनाको पिसिआरमध्य २५ जनाको रिपोर्ट नेगेटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।

हिरासतमा रहेका पालुङ्टार ७ च्याङ्लीका युवाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि कन्ट्याक टूेसिङ गर्दा १५ जना प्रहरीसहित जिल्ला अदालत, सरकारी वकिल कार्यालय, हिरासतमा रहेका अन्यहरुको पिसिआर संकलन गरिएको एसपी ओम अधिकारीले जानकारी दिए ।
बाँकी तीनजनाको रिपोर्ट आइतबार आउन सक्ने सम्भावना रहेको उनले बताए ।

शनिबार सिरानचोक गाउँपालिकाको १२ जना र गोरखा अस्पतालका चार जनाको पिसिआर संकलन गरिएको छ । भीमसेनथापा गाउँपालिकाका दुई जना र गोरखा नगरपालिकाका दुई जनाको पिसिआर संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

अस्पतालको आइसोलेशनमा रहेका १४ जनासहित अस्पतालबाट पठाइएको ४८ जनाको स्वाब संकलन गरी पठाएपनि लामो समयदेखि रिपोर्ट नआएको ढकालले जानकारी दिए ।

त्यस्तै मनकामना बहिरा माविको क्वारेण्टाइनमा रहेका २२ जनाको पिसिआरको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेग्मीले जानकारी दिए । सो क्वारेण्टाइनमा हाल ५३ जना बसिरहेका छन् ।

सिरानचोक गाउँपालिका ४ स्थित सर्वोदय आधारभूत विद्यालयका आठ जना, सिम्ले क्वारेण्टाइनका दुई जना र जनज्योति मावि चिप्लेटी क्वारेण्टाइनका दुई जनाको शनिबार पिसिआर संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका रामचन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्