| आइतवार, कार्तिक २२, २०८३

गोरखामा पिसिआर मेसिन ल्याउने प्रक्रिया अघि बढ्दै, प्रारम्भिक अध्ययन गर्न कार्यदल गठन

दरौँदी समाचारदाताः कोरोना भाईरसको संक्रमण बढ्दै गएका बेला गोरखाका स्थानीय तहले जिल्ला भित्रै चेकजाँचको चाँजोपाँजो मिलाउने तयारी गरेका छन् । स्थानीय तहलाई ब्यवस्थापनमा चुनौती थपिएको, सर्वसाधारणमा त्रास कायम रहेको भन्दै छिटो चेकजाँचका लागि गोरखामा पिसिआर जाँच गर्ने मेसिन राख्ने योजना बनेको समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले बताए । प्रदेश प्रयोगशालामा पठाएको स्वाब लामो समय सम्म परीक्षण नहुँदा क्वारेन्टिमा बस्नेहरुलाई समस्या भएको छ ।

शुक्रवार जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको अध्यक्षतामा बसेको स्थानीय तहका प्रमुख सहित सरोकारवालाहरुको बैठकले पिसिआर मेसिन प्रयोगका संभाब्यता अध्ययन गर्न समिति गठन गरेको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा स्वास्थ्य कार्यालय प्रमुख विद्या तामाङ र गोरखा अस्पतालका डाक्टर कमल रोका रहेका छन् । ‘समितिले पाँच दिन भित्र पिसिआर मेसिन राख्दा हुने फाईदा, गर्नुपर्ने तयारी, अनुमानीत लागत, उपयोगिता लगायतको बारेम जानकारी गराउनेछ’ समन्वय प्रमुख गुरुङले भने ।

बैठकले गोरखा क्याम्पसमा निर्माण गर्न लागिएको एक सय बेड क्षमताको आईसोलेसनको ब्यवस्थापन एवं अनुगमनका लागि गोरखा नगरपालिकाका उपप्रमुख बिना कुमारी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा संम्बन्धित वडाका जनप्रतनिधि, राजनीतिक दल देखि नागरिक समाजका ब्यक्तीहरु सदस्य छन् ।

जिल्ला स्तरीय आईशोलेसन एवं कोष ब्यवस्थापन समितिका संयोजक अशोक कुमार गुरुङको संयोजकत्वमा कार्य सम्पदान समिति गठन गरिएको छ । क्वारेन्टिन सहितको आईशोलेसन निर्माणका गठन भएको समितिका सदस्यमा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त र शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा सदस्य रहेका छन् । उक्त समितिले आईशोलेसन निर्माणका लागि उप समिति समेत गठन गर्न सक्नेछ । गोरखाका ११ वटै स्थानीय तह मिलेर ५/५ लाख जम्मा गरी एक सय ६५ बेड क्षमताको आईसोलेशन निर्माण गर्ने क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्