
कोरोना नेगेटिभ आयो भनेर घर गएकाको रिपोर्ट पोजेटिभ आएपछि गाउँले त्रसित
कोरोना नेगेटिभ भएको भन्दै घर पुगेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएपछि स्थानीयबासी त्रसित भएका छन् ।
भीमसेन थापा गाउँपालिका ६ अश्राङको जनशक्ति आधारभूत विद्यालय मोहोरियाको क्वारेण्टाइनमा बसेकी एक महिला रिपोर्ट नेगेटिभ आएको भन्दै बुधबार दिउसो घर पुगेकी थिइन् ।
तर साँझतिर रिपोर्ट पोजेटिभ आएको भन्दै स्वास्थ्य शाखाले पुन क्वारेण्टाइन फर्काएपछि गाउँले त्रसित भएको वडा अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए ।
‘नन्द भाउजु एउटै क्वारेण्टाइनमा बसेका थिए । दुवै जनाको कोरोनो नेगेटिभ आयो भनेर हिजो खबर आयो’, वडा अध्यक्ष थापाले भने, ‘अनि आज तीनबजेतिर दुवै जना घर पुगे । करिब करिब दुईघण्टा घरमा बसे । सबै जना सराबर छुतछात भयो । तर आज साँझ फेरि एकजनाको पोजेटिभ आयो भनेर खबर आयो । अहिले गाउँमा पूरै त्रास छाएको छ । बरबाद भयो ।’ उनलाई साँझ पाँचबजेतिर फेरि क्वारेण्टाइनमा फर्काइएको उनले बताए ।
वडा नं. ६ झिँगटेका अर्का एक युवा पनि रिपोर्ट नेगेटिभ आएको जानकारी पाएपछि मंगलबारै घर गएका थिए । भारतमा पढेर फर्केका उनी २४ घण्टासम्म घर परिबारसँग घुलमिल भएका थिए । तर बुधबार रिपोर्ट पोजेटिभ आएपछि गाउँलेहरु त्रसित भएका गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले बताए ।
मंगलबार भीमसेन थापा गाउँपालिकाको ११ जनाको रिपोर्ट नेगेटिभ आएको बारे स्वास्थ्य शाखाले उनीहरुलाई जानकारी दिएको थियो । तर बुधबार उनीहरुमध्य चार जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । वडा नं १ मसेलको एक जना, वडा नं. ५ बगुवाको एकजना र वडा नं. ६ अश्राङको दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएपनि बाँकी तीनजना भनेर क्वारेण्टाइनबाट ननिस्केका गाउँपालिकाले जनाएको छ ।
‘जिल्ला स्वास्थ्य कार्यालयबाट हामीलाई आइडी पासवर्ड पठायो । हामीले त्यही आधारमा भन्यौँ । तर बुधबार फेरि फरक आएछ’, स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, ‘कहाँ कसरी त्रुटी भयो, मलाई थाहा भएन ।’
गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले भने त्रुटी स्वास्थ्य कार्यालयको नै रहेको दाबी गरेका छन् । ‘मलाई हिजो जिम्मेवार मान्छेले नै फोन गरेर ११ जनाको रिपोर्ट नेगेटिभ आयो भने’, उनले भने, ‘लिखित आउने चलन छैन । फोनकै भर हो । फोनको पनि रेकर्ड राखेको छैन । तर आज फेरि उनीहरुकै पोजेटिभ आयो भनिएको छ । यो लापार्बाही जिल्ला स्वास्थ्य कार्यालयकै हो ।’
स्वास्थ्य कार्यालय गोरखाले भने मंगलबार सातजनाको मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । ‘हामीले त सात जनाको मात्र नेगेटिभ भनेका थियौँ, उहाँहरुले कसरी ११ जनाकै नेगेटिभ भन्नु भयो हामीलाई थाह भएन’, कार्यालय प्रमुख विद्या तामाङले भनिन् ।




