| आइतवार, कार्तिक २२, २०८३

शुल्क तिर्न इच्छुकलाई होटलमै क्वारेण्टाइन र आइसोलेशन

 

निर्धारित शुल्क तिरेर होटलमैे क्वारेण्टाइन तथा आइसोलेशनमा बस्न चाहनेले अब सो सुविधा पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको स्थानीय तहसँगको समन्वय बैठकले होटलको सुविधामा आइसोलेशन तथा क्वारेण्टाइनमा बस्न चाहनेलाई सो सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

कोरोना महामारी र लकडाउनका कारण देश, विदेशबाट घर फर्कने तथा काम विशेषले गोरखा आउन चाहनेलाई दृष्टिगत गरी बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘यदि कोही भारत, तेस्रो मुलुक वा स्वदेशकै बिभिन्न ठाउँबाट आएर निर्धारित शुल्क तिरेर होटलको आइसोलेशन तथा क्वारेण्टाइनमा बस्न चाहेको खण्डमा सो सुविधा उपलब्ध गराउने निर्णय भएको छ’, बैठकपछि प्रजिअ पौडेलले भने, ‘त्यसका लागि उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, होटल व्यवसायी संघसँगको समन्वयमा स्थानीय तहले निर्धारण गरेको शुल्क भुक्तानी गर्नुपर्ने छ ।’ स्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने तथा स्वास्थ्यकर्मीको टेलिनिगरानी हुने पनि बैठकले निर्णय प्रजिअ पौडेलले बताए ।

कोरोना पोजेटिभ भएको तर कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई मात्र होटलको आइसोलेशनमा राख्न सकिने गरी निर्णय भएको हो ।

यसअघि गोरखा उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्शले केही होटलवालाहरुसँग परामर्श गरिसकेको जनाएका छन् । होटल सत्यम र होटल गोरखा प्यालेसले क्वारेण्टाइन सेवा दिन सहमति जनाएको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले जनाए ।

त्यस्तै होटल बिसौनी, गोरखा गाउँ रिसोर्ट, होटल वृन्दावन र होटल हिमालयनले पनि सहमति जनाएका च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए । कतिपय होटलसँग दररेट समेत लिइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्