
प्रहरी हिरासतका कोरोना संक्रमित किशोर बलत्कार घटनाका आरोपी
जिल्ला प्रहरी कार्यालयको हिरासतभित्रै एक किशोर कोरोना संक्रमित भेटिएका छन् ।
पालुङ्टार नगरपालिका वडा नं. ७ बुढीकुवाका १७ बषीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि थुनामा परेका थिए ।
उनी जीवनज्योति मावि च्याङ्लीमा कक्षा नौमा पढ्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।
हिरासतमा हाल उनीसहित दुईजना रहेका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
स्थानीय क्वारेण्टाइनमा रहेकामा कोरोना पुष्टि नहुदै समुदायमा रहेका उनी कसरी संक्रमित भए भन्ने बारे चौतर्फी प्रश्न गरिएको छ । उनलाई गोरखा अस्पतालको आइसोलेशनमा पठाइएको जिप्रका गोरखाले जनाएको छ ।
उनको गाउँ बुढीकुवालाई सुरक्षित राख्दै कन्ट्याक ट्रेसिङ गर्न सुरु गरिएको नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए । उनका अनुसार पालुङ्टार नगरपालिका ७ मा गत बैशाख महिनादेखि यता भारतबाट १७ जना आएर क्वारेण्टाइनमा बसेका छन् ।
पालुङ्टार नगरपालिकामा गत बैशाखदेखि अहिलेसम्म भारतबाट ३५ जना आएका छन् । उनीहरुमध्य छ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




