
विकास निर्माणको काम अघि बढाउन र खाद्य संकट हुन नदिन पूर्व तयारी गर्न पालिकाहरुलाई आग्रह
कोरोना विपद व्यवस्थापन केन्द्र, जिल्ला स्तरीय कमाण्डपोष्ट तथा सुरक्षा समितिको बुधबार सम्पन्न संयुक्त बैठकले खाद्य संकट हुन नदिन र विकास निर्माणको कामलाई अघि बढाउने बारे पूर्व तयारी गर्न स्थानीय पालिकालाई आग्रह गरेको छ ।
वडा कार्यालयको प्रयोग गरी बाँझो जग्गाको लगत संकलन गर्न तथा विकास निर्माणका लागि दक्ष जनशक्तिको लगत संकलन गर्न स्थानीय पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए । ‘बिभिन्न गैरसरकारी संस्थाबाट निर्माण सम्बन्धी तालिमप्राप्त जनशक्तिको तथ्यांक वडा कार्यालयले राख्ने र आवश्यक पर्ने निर्माण कम्पनी तथा घरेलु तथा साना उद्योग कार्यालयमा उपलब्ध गराउने निर्णय भएको छ’, सूचना अधिकारी रोकाले भने ।
लामो समयको लकडाउनका कारण हुनसक्ने खाद्य संकटबाट जोगाउन सबै पालिकाहरुले वडा कार्यालयको मद्दतमा खेतीयोग्य जमिनको लगत संकलन गर्ने, बाँझो जग्गा उपयोगसम्बन्धी कार्यविधि बनाई कार्यान्वयन गर्न पालिकालाई आग्रह गर्ने निर्णय भएको छ ।
खेतीयोग्य जमिनलाई बाँझो राखेमा कारबाही गर्ने नीति नियम बनाउन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको प्रशासकीय अधिकृत रोकाले जानकारी दिए ।
तालिम लिएका तथा देश, विदेशमा सम्बन्धित कामको अनुभवन भएका विषयगत दक्ष जनशक्तिको रोष्टर तयार गर्न प्रत्येक पालिकालाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।




