
रतुवा मृग शिकार गर्ने गोरखा घ्याल्चोकका एक पक्राउ
रतुवा मृग शिकार गरेको आरोपमा गण्डकी गाउँपालिका ८ सिउरेनीटारका एक युवा पक्राउ परेका छन् ।
जंगलमा रतुवा मृगको शिकार गरी घरमा ल्याएर काटिरहेको अबस्थामा फेला परेका ३८ बर्षका स्थानीय कुमार माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
माझीको साथमा रतुवा मृगको मासु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
रतुवा मृगको शिकार गरेको सूचनाको आधारमा माझीलाई पक्राउ गरिएको एसपी ओम अधिकारीले जानकारी दिए । मासुसहित नै उनलाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि आइतबार नै डिभिजन वन कार्यालयमा बुझाइएको एसपी अधिकारीले बताए ।
माझीलाई नियन्त्रणमा लिइएको भन्दै वन कार्यालयका प्रमुख तोयानाथ पौडेलले उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुको संरक्षण ऐन २०२९ को दफा २६ वन्यजन्तुको शिकार शीर्षकमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने डिभिजन वन अधिकृत पौडेलले बताए ।




